पर्दा भित्रकी प्रेमिका 

अनलाइन दर्पण 2018-04-11
img

  केपी शर्मा ज्ञावली

अब खुसी छैन म
यो पर्दाभित्रको हाम्रो भेटमा
तिम्रो अनुहार पनि निरस लाग्न थालिसक्यो
माफ गर आजभोलि
म तिमीलाई राम्री देख्न छोडिसकें ।
यो पर्दा भित्र तिमी जहाँ छौ
ठिक त्यहीं नेर
हर दिन
तिमि जस्तै सुन्दर युबतिको
नाङ्गो तस्बिर हुन्छ
यस्तो बेला तिमीप्रति प्रकट भएको भावलाई
म कसरि प्रेम भनू ?
तिमीलाई कसरि ढाँटू ?
अँ हँ म सक्दिन
त्यसैले
म तिमीलाई प्रेम गर्छु भनेर आफैलाई विश्वास गर्न छोडी सकें
सायद तिमीमा छ होला अझै
खै किन माया लाग्दैन तिम्रो
किन चुम्नुको रहर हुँदैन तिम्रो गुलाबी भनिने अधरहरु
किन देख्दै छु तिमीलाई यौटा कागजको फुल ?
किन फिक्का लाग्छ हाम्रो सम्बन्ध
तिमि यो सृष्टिको सुन्दर सिर्जना हौ
र पनि
किन लाग्छ तिम्रो सुन्दर तस्बिर
भाउ नपाएको सेकेन्ड ह्याण्ड सामानको बिज्ञापन जस्तो ?
त्यसैले प्रिय,
मलाई एक पटक यो पर्दा बाहिर निस्केर
दर्शन देऊ
म पनि निस्कन्छु यहाँ बाट
कुनै शनिबारको साँझ
कुनै एकान्त ठाउँ
नदीको बलौटे किनार
हरियो चहुर
वा कुनै
निष्पटट आध्यारो रातमा
जुनकिरीको पुच्छरमा झुन्डिएको उज्यालोमा
तिम्रो अनुहार नियाल्दै
तिमीलाई मात्र नजिक पाएर
तिमीलाई मात्र आफ्नो सम्झेर
तिम्रो केश,
ओठ
निधार
परेलिहरुमा
अनन्त चुम्बन छर्न सकूँ ।

केपी शर्मा ज्ञावली

सम्बन्धित समाचार

Advertisement