‘म कुन रफ्तारमा दौडन सक्छु भन्ने कुरा सामान्य अवस्थामा थाहा हुँदैन । जब मेरो पछाडि बाघ छाडिन्छ, म अरू बेलाभन्दा बेतोडले दौडन्छु । खासमा मेरो कुद्ने क्षमता त्यही हो ।’
सृष्टि केसीले दार्शनिक पारामा यसै भनिन् । प्रश्न थियो, ‘आँखा देख्नेलाई भ्याउन गाह्रो हुने काम कसरी सजिलैसँग गरिरहनुभएको छ ?’
सृष्टिको अनुभवमा हरेक मान्छेसँग क्षमता हुन्छ । तर, त्यो क्षमतालाई उसले त्यसबेलासम्म भरपुर प्रयोग गर्दैन, जबसम्म उसलाई संकट आउँदैन । संकट भनेको बाघ हो । जब संकटले लखेट्छ, मान्छेले आफ्नो क्षमताको प्रयोग गर्छ ।
‘आँखा नदेख्ने भएपछि मैले कति कठोर दिनहरू गुजारें । त्यही दिनले मलाई आजको जीवन बाँच्न सिकायो । हरेक संकटभित्र समाधान हुन्छ । समाधान भन्दा बढी अवसर हुन्छ । मैले अवसर रोजें’, सृष्टिले भनिन् ।
उनको यो भनाइमा कोरा आदर्श थिएन । आफ्नै जीवन-भोगाइ थियो । सुनिरहँदा लाग्थ्यो, उनको ढुकढुकीबाटै आवाज आइरहेको छ । सिलसिलाबद्ध । लयबद्ध ।
उनी जे बोलिरहेकी थिइन्, त्यसमा बेग्लै उर्जा, उमंग र उत्साह मिसिएको थियो । सम्भवतः उनको बोलीमा मिसिएर आउने यस्तै उत्साहको ध्वनिले हुनसक्छ, देश-विदेशमा ‘बोल्नकै लागि’ उनलाई निम्तो गरिएको ।
हामीसँग कुराकानी गरिरहँदा पनि सृष्टिलाई हतार थियो, ‘मोटिभेसनल क्लास’का लागि कतै जाने । भन्दै थिइन्, ‘आज अलि हतारमा छु है ।’
बिहान उठेदेखि राती सुत्ने बेलासम्म उनी घडीकै काँटाजस्तो निरन्तर दौडिरहन्छिन् । बिहान उठ्यो काममा दौडियो । साँझ घर फर्केर आयो । अनलाइनमार्फत विदेशका साथीहरूसँग छलफल । अनलाइन कक्षा संचालन । बस्ने फुर्सद खै ?
एउटी युवती, त्यसमाथि दृष्टिविहिन, कसरी यत्ति धेरै काम फत्ते गर्छिन् ?
‘आफूलाई परेपछि मान्छेले जे पनि गर्नसक्छ’, कुनै विचारकले झैं माझिएको भाषामा उनले भनिन्, ‘मेरो जीवनमा सबै कुरा ठिकठाक भइदिएको भए, सायद यति अगाडि बढ्ने थिइन ।’
सबै कुरा ठिकठाक थियो । पढ्दै थिइन् । हुर्कदै थिइन् । तर, अचानक उनको गति रोकियो । सग्लो आँखाले वाहिरी वस्तुहरू ठम्याउन छाड्यो । आसपासका दृश्यहरू फिक्का र मधुरो हुँदै गए । चर्को घाममा केही हेर्नै नहुने । अलिकति धुलो पर्नसाथ आँखा बिझाउने ।
उनको दृष्टि त्यहीबेला हरायो, जतिबेला उनी रंगीन संसारलाई देख्ने र बुझ्ने हुँदै थिइन् । पढाइ गर्नुपर्ने, करियर बनाउनुपर्ने जीवनको संघारमा उनको संसार अँध्यारो भइदियो । उनी नदेख्ने भइन् । यो जन्मदोष थिएन । उपचारमा भएको लापर्बाही थियो ।
आँखाको समस्या भएपछि उपचारका लागि चिकित्सकहाँ पुगेकी थिइन् । चिकित्सकले एलर्जीको औषधि थमाइदिए । औषधिले बिसेक भएन । थप समस्या भयो । औषधि गलत परेछ । सृष्टिको दृष्टि फर्किएन ।
सामान्य हिँडडुल गर्न उनलाई गाह्रो भयो । लेखपढ गर्न र मनोरञ्जन लिन नसकिने भयो ।
देख्नेहरूले भने, ‘बिचरा ।’
विद्यालयले भन्यो, ‘अशक्त विद्यार्थीलाई यहाँ पढाउन सकिदैन ।’
सृष्टिको जीवन कठिन बन्यो । उमेरले भर्खर १६ वर्ष टेक्दै थियो । न गरिखानु, न मरिजानु ।
ठीक यही मोडमा ठोक्किएपछि हो, उनले छलाङ मारेको । सृष्टिकै भाषामा उनलाई ‘बाघले लखेट्यो ।’ उनी भएभरको ताकत लगाएर दौडिइन् । उनलाई खेदिरह्यो, उनी दौडिरहिन् । तेज गतिमा । र, यहाँसम्म आइपुगिन् ।
यहाँसम्म, अर्थात आजको दिनसम्म । यतिबेला उनको जीवन-भोगाइ कुनै कविताको पंक्तिजस्तै हुन पुगेको छ । कुनै कथाजस्तो । फिल्मजस्तो ।
उनले जुन जीवन बाँचिन्, त्यो कुनै ‘एडभेन्चर’ कथा जस्तै लाग्छ । साहसको कथा, संघर्षको कथा, सफलताको कथा । लय र धुनको कथा ।
आँखा देख्दिनन् । तर, इन्द्रधनुषी जीवन बाँच्छिन् । उमंग, उत्साह र ऊर्जाले भरिपूर्ण दिनचर्यामा रमाउँछिन् । नाच्छिन्, गाउँछिन्, अभिनय गर्छिन्, कथा-कविता लेख्छिन् । फेसनमा रुचि राख्छिन् । त्यतिमा मात्र उनको संसार सीमित छैन ।
उनी देशको कुनाकाप्चा चहार्दै शारीरिक रूपले अशक्तहरूलाई प्रेरणादायी प्रवचन दिन्छिन् । केही गर्नका लागि उत्साहित बनाउँछिन् ।
आफ्नै संस्था छ- ब्लाइन्ड रक्स । यही संस्थामार्फत उनले देश-विदेशमा आफ्नो सञ्जाल विस्तार गरेकी छिन् । बेलायतमा यसको आफ्नै शाखा छ । अपाङ्गता भएका एवं दृष्टिविहिनहरूको क्षमता विकासका लागि जुटेको संस्था सान्सार इन्टरनेसनल केरलासँग पनि उनी जोडिएकी छिन् । त्यही संस्थाको आमन्त्रणमा उनी मोटिभेसनल स्पिकरको रूपमा केरला पुगिरहन्छिन् ।
सृष्टि दृष्टिविहिन भइन् । अब कसरी हिँड्ने ? कसरी पढ्ने ? कसरी खेल्ने ?
यी प्रश्नले उनलाई लड्न सिकायो, जुध्न सिकायो ।
आँखा नदेखेपछि पुस्तक ठम्याउन सक्दैनथिन् । लेख्न सक्दैनथिन् । ब्रेल लिपि पढ्ने अभ्यास थिएन । आइडिया फुराइन् । शिक्षकले बोलेको कुरा टेपमा रेकर्ड गर्ने । त्यही कुरा सुनेर पाठ याद गर्ने । यसैगरी उनले पाठ्यपुस्तक छिचोलिन् ।
पछि घरमै काठमा अक्षर खोपेर पढ्ने अभ्यास गरिन् । काठमा खोपिएको अक्षर स्पर्श गर्दै पढ्न थालिन् । परीक्षा दिइन् । एसएलसीमा ७० प्रतिशत अंकका साथ उत्तीर्ण भइन् । तर, त्यसपछि पनि उनको बाटो सहज भइदिएन ।
उच्च शिक्षाका लागि उनी जहाँ-जहाँ पुगिन्, निराशासिवाय हात लागेन । सबैले ढोका बन्द गरिदिए । ‘दृष्टिविहिनका लागि हामीकहाँ पढ्ने ठाउँ छैन’ भन्दै फर्काइदिए ।
यसरी चारतिर ठोक्किँदै उनी डिल्लिबजारको कन्या क्याम्पस पुगिन् । त्यहाँ भर्ना भइन् । तर, भक्तपुरको सिरुटारदेखि डिल्लीबजारसम्म आउजाउ गर्न सजिलो थिएन । असजिलो बाटो तय गरिन् ।
उपमा आचार्य नामकी शिक्षिकाले उनलाई ढाडस दिइन् । सृष्टिको लगाव र श्रमलाई उनले बुझेकी थिइन् । उनले सृष्टिको नाममा कोष खडा गरिदिइन् । छात्रवृत्तिको व्यवस्था मिलाइदिइन् । सृष्टिले त्यही क्याम्पसबाट प्रमाणपत्र तहमा साहित्यतर्फ त्रिभूवन विश्वविद्यालय टप गरिन् । उनलाई अर्जुन स्वर्ण पदक मिल्यो ।
यसरी सृष्टि एकपछि अर्को खुड्किलो टेक्दै गइन् । अहिले उनीसँग लन्डनस्थित विश्वविद्यालयबाट ‘आर्ट एन्ड कल्चर’मा स्नातकोत्तरको प्रमाणपत्र छ । नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको छात्रवृत्तिमा नर्वे पुगेकी सृष्टिले नर्वे, हंगेरी, फ्रान्स हुँदै बेलायतबाट चार सेमेस्टरको स्नातकोत्तर पूरा गरेकी छन् ।
पढाइसँगै सृष्टिले आफ्नो फराकिलो परिचय बनाएकी छिन् । हरेक कुरामा उत्तिकै जिज्ञासु, उत्तिकै मिहिनेती छिन् । गीत लेख्नदेखि नृत्य गर्नसम्म उनलाई जाँगर चल्छ । फेसनेवल हुनदेखि अभिनय गर्नसम्म उनलाई मुड चल्छ । कहिले जीवन-संघर्षबाट सिकेका गहन कुरा बाँडिरहेकी हुन्छिन्, कहिले विन्दास नाचिरहेकी हुन्छिन् । साभारः अनलाइन खबर