समृद्ध नेपाल निर्माणका लागि के पि ओलिको नेतृत्व

अनलाइन दर्पण 2018-01-06
img

  आनन्दप्रसाद पोखरेल

जनताले आफ्नो अभिमत दिएर समृद्ध नेपाल निर्माणको सपना साकार हुने अपेक्षा गरिरहेका छन् । गरिब देशको नागरिकको पीडालाई सदासदाका लागि हटाउन निर्वाचनमार्फत जनताले गरेको फैसला स्थिर सरकार निर्माण र समृद्धि नै हो । तर, निर्वाचन यताका केही परिदृष्यहरू जनताको फैसलाको ठीक विपरीत हुन थालेका छन् । जनताले जसलाई भावी प्रधानमन्त्रीका रूपमा देख्न आफ्नो मत प्रकट गरे, तिनै नेतामाथि हमला हुन थालेको छ । विरोधी कित्ताबाट हमला हुनु स्वभाविक हो ।

तर, यतिबेला बाम गठबन्धनको मूल नेता एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आफ्नैबाट प्रचार केन्द्रित हुन थालेको अनुभूति भइरहेको छ । तथ्य एकातिर छ, जनताको म्यान्डेट पनि एकातिर छ तर ठीक विपरीत प्रचार गर्दै जनताको समृद्धिको चाहनालाई चकनाचुर पार्ने खेल नेपाली राजनीतिमा चलिरहेको छ । यो खेलको अग्रभागमा लोकतन्त्रको नाममा सदाबहार अधिनायकवाद लादन पल्केको नेपाली कांग्रेस र पटकपटक प्रतिगमनमा धकेल्ने पात्र शेरबहादुर देउवा छन् ।

नेपाली सञ्चारमाध्यम अहिले पनि एमाले–माओवादी नेतृत्वको संयुक्त वाम गठबन्धन, निर्वाचन आयोग, निर्वाचन परिणाम, सरकार निर्माण र एमाले–माओवादी केन्द्रबीच पार्टी एकताका प्रश्नमा केन्द्रित छन् । नेपाली कांग्रेस, आमनिर्वाचनमा उसले बेहोर्नुपरेको पराजय, अनि प्रधानमन्त्री शेरबहादुर देउवामा पलाएको अधिनायकवादी सोच र सत्तामोहका विषयमा पनि खुलेर चर्चा हुन थालेको छ ।

यो बहस जनस्तरमै पुगिसकेको छ । तर, सबैका कलम र आवाजहरू देश र जनताको हितभन्दा आफ्ना मिसनअनुसार चलेका छन् । एकाध सञ्चार माध्यमबाहेक अधिकांशबाट निष्पक्ष, सही र सत्य विषयबस्तु पाठक÷ स्रोताहरूले पाउन सकिरहेका छैनन् । भ्रममा पार्ने र जनमतभन्दा अरू नै ठूलो हो लोकतन्त्रमा भन्ने गलत मान्यता जवर्जस्त स्थापित गराउने कोसिस पनि भइरहेका छन् ।

जसले जसरी बहसलाई मोड्न खोजे पनि सत्य छोप्न सक्ने अवस्थामा कोही छैनन् । नेपालको राजनीतिक परिदृश्य एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शेरबहदुर देउवा, विशेषतः राजनेता केपी ओलीकै वरिपरि घुमिरहेको छ । नेपालको भावी राजनीतिले कुन मोड लिने हो ? पार्टी र राजनीतिक विश्लेषकहरू समेतले खुट्याउन सकिरहेका छैनन् ।

कठिन परिस्थितिमा सरकार चलाउँदा राजनेता ओली जनतामा ठूलै आत्मविश्वास पैदा गर्न सफल भए । त्यसैको परिणाम ओली नेतृत्वको सरकार निर्माण गर्न वाम गठबन्धनले बहुमत पायो । तर, बिडम्बना भन्नुपर्छ, जनताको समृद्धिको चाहना रोक्न यतिबेला संविधान, कानुन र प्रचलित परम्परालाई समेत गलत ढंगले व्याख्या गरिएको छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतलाई भ्रम दिने काम सत्तारूढ दल र संवैधानिक निकायहरूबाटै भइरहेका छन् ।

अभैm पनि एउटा पक्ष वाम गठबन्धन र निर्वाचन परिणामलाई रहस्य र चमत्कारीको विषय ठान्दछ । यो कुनै चमत्कारिक र रहस्यको विषय होइन । नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीले सोचिविचारी केन्द्रीय कमिटीको बैठकबाट निर्णित विषय हो । कम्युनिस्ट पार्टी यस्ता रहस्य र चमत्कारमा विश्वास गर्दैन ।

सर्वविदितै तथ्य के हो भने नेकपा एमाले र यसको नेता ओली लोकप्रिय थिए । एक्लै बहुमत प्राप्त हुन पनि सक्दथ्यो ? तर, वर्तमान निर्वाचन प्रणाली (समानुपातिक) ले विश्वस्त हुने ठाउँ थिएन र लामो संक्रमणकाल र अस्थिरता बेहोरेको मुलुक नयाँ संविधान घोषणापछि यो दोहो¥याउने पक्षमा थिएन । राजनीतिक रूपले स्थायी सरकार समयको माग र जनताको चाहना बनेको थियो ।

त्यसलाई व्यावहारिक रूप दिन वाम गठबन्धन जरूरी थियो । यही कार्यभार पूरा हामीले गरेका हौँ । एमाले र मओवादीले विगतको गल्ती मात्रै सच्याएको हो । यो गठबन्धन स्वाभाविक उपयुक्त थियो । परिणामत गठबन्धनबाट दुईतिहाइको अपेक्षाभन्दा केही कम सिट जित्न सकेका छौँ ।

हो यो गठबन्धनलाई फुटाउ र शासन गर भन्ने परम्परावादी शक्ति कांग्रेस र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिले पचाउन सकेको छैन । त्यहीशक्तिबाट पालित–पोषित र निर्देशित घरेलु प्रतिक्रियावादी शक्तिमा बेचैन देखिएको छ । लोकतान्त्रिक भन्ने कांग्रेस र यसको नेता विभिन्न बहाना खोज्दै सरकार नछाड्ने दाउमा छन् । यो वाम गठबन्धन फुटाउने भगीरथ प्रयासमा लागेका पनि छन् । यसको लागि एमालेइतर नेपालका राजनीतिक शक्तिको मोर्चा बनाएर वाम गठबन्धनभित्रकै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्रीको अफर गरिरहेका छन् ।

पार्टीभित्र, बाहिर र व्यक्ति–व्यक्तिबीच खेल्ने, उचाल्ने, भड्काउने, लोभलालचमा फसाउने, सरकार बनाउने मुद्दालाई तन्काउनेजस्ता षड्यन्त्रपूर्ण काम पनि सतहमा देखिँदै छ । यसको असर पार्टीभित्र र बाहिर कलात्मक सैद्धान्तिक जामभित्र, बढो आदर्श ढंगबाट सञ्चार माध्यमबाट प्रचारित भइरहेको छ । सुन्दा कर्णप्रिय लाग्ने तर अन्तर्य बुझ्दा नियोजित, भडुँवा, विभाजनको बीउ रोप्ने, आन्तरिक एकतामा भाँजो सिर्जना गर्ने, विपक्षीलाई रिझाउने खाले प्रचारले ठाउँ पाएको छ ।

पार्टी निर्णय र पार्टी नेतृत्वको रक्षा गर्ने पंक्तिलाई जुकाको संज्ञा दिन थालिएको छ । ऐतिहासिक वाम गठबन्धनको सरकार निर्माण र पार्टी एकताको कार्यभार पूरा गर्ने महत्वपूर्ण काम बाँकी छ । किन नेतृत्वपंक्ति नै लक्ष्मण रेखा नाघ्दै छ ? यो खोज र जाँचपड्तालको विषय हुने कि नहुने ? भन्ने प्रश्न आमनागरिकले उठाएका छन् । खासगरी नेपाल बनाउन चाहने युवापुस्ता र आमजनताको तहमा यो बहस अघि बढेको छ ।

सबैलाई हेक्का हुनुपर्ने हो, एमाले–माओवादी दुवै पार्टी एउटै चुनावी घोषणा पत्रको माध्यमबाट निर्वाचनमा उभिएर यो जनादेश प्राप्त गरेका हो । व्यावहारिक तथ्य के हो भने यो निर्वाचन केपी शर्मा ओलीको नेतृत्वमा सम्पन्न भई यो परिणाम प्राप्त गरेका छौँ । चितवनलगायत मुलुकभर प्रचारको नेतृत्व केपी ओलीले गरेको जीवित सत्य हो ।

यो जनमत वाम गठबन्धन र ओलीको नाममा प्राप्त भएको छ । यसअर्थमा अबको प्रधानमन्त्री को भन्ने बहस छैन । स्वाभाविक र सहज रूपमा सरकारका भावी नेताको नाम विवादको विषय हुन सक्दैन ? ओली पार्टीको प्रथम व्यक्ति भएर नेतृत्व गरेको पाँच वर्ष पुगेको छैन । संकटपूर्ण अवस्थामा सरकारको नेतृत्व गरी नेपाल र नेपालीको स्वाभिमान उच्च बनाई नाकाबन्दीबाट मुलुकलाई मुक्त गर्ने नेता हुन् ओली । चीनसँग व्यापार पारवहन सम्झौता गरी भूपरिवेष्टित राष्ट्रको अधिकार स्थापना गर्ने गराउने व्यक्तित्व ओली नै हुन् ।

विधानतः उमेरको हद पनि काफी छ । त्यसैले यतिबेला सिंगो मुलुकले ओलीको नेतृत्व देख्न चाहेको छ । यत्ति नै बेला राजनीतिक सन्यास लिनुपर्ने बाध्यता किन आयो ? कसको सेवाका लागि सन्यास लिनुप¥यो ? यद्यपि, जसको नाममा यो कुरा बाहिर आयो, पूर्ण सत्य नभएको बताइसकेका छन् । तर, जे भए पनि सन्यासको विषयमा ठोस जवाफ वक्तासँग हुनुपर्छ ।

म ब्लड प्रेसरको बिरामी, औषधि नखाने जिद्दी कस्दै थिएँ । डाक्टरले सम्झाउँदै भने, प्रेसर चोर हो, झ्यालढोका बन्द गर्नुपर्दछ । नत्र तपाईंलाई नै चोर्न सक्छ । अर्थात औषधि खाऊ । आज एमालेभित्रै यस्ता चोरहरू छिद्रा खोज्दै विभिन्न प्वालबाट पस्दै एमाले–एमालेको विचार र नेतृत्व ध्वस्त पार्ने गोटीका रूपमा प्रयोग हँुदै छन् ।

घाम जत्तिकै छर्लंग छ, ओलीलाई सरकार र पार्टीमा देख्न नचाहने तत्व कुन हो ? आज ऊसैको इच्छा चाहना पूरा गर्ने टुल्सहरूले के वाम गठबन्धनको सरकार बन्न दिन्छन् ? दुई पार्टीबीचको एकता हुन दिन्छन् ? विषय गम्भीर र निकै पेचिलो बन्दै छ । जनताको आदेशको रक्षा गर्दै वाम सरकार गठन र पार्टी एकताको लागि एकजुट हुनु आजको आवश्यकता हो । ओली नेतृत्वमा समृद्धि हासिल गर्नु हो ।

यो कार्यभार पूरा गर्न पार्टीभित्र र बाहिर हुर्केका वा हुर्काइएका सबैखाले प्रतिक्रियावादी र अवसरवादी तत्वलाई चिन्दै पराजित गर्नुपर्छ । अब समृद्धिका पक्षमा सबैले पार्टी नीति र नेतृत्व वरिपरि गोलबन्द हुँदै राष्ट्र, जनता, जनआदेश पूरा गर्न अग्रसर हुनुको विकल्प छैन । ओलीको नेतृत्व र प्रचण्डको दह्रो साथमा मात्रै यी काम संभव छ भन्ने धरातलीय यथार्थलाई सबैले बुझन जरुरी  छ ।

सम्बन्धित समाचार