बाबुकाजी कार्की
शिक्षण पेसाप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेसाको भन्दा तुलानात्मकरुपमा आकर्षक सेवा सुविधा भएको कारणले पनि सरकारी शिक्षक बन्ने होड चलेको हो। विद्यालय शिक्षाको लागि विगतमा शिक्षक भर्ना गर्ने नीति नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन्। सामुदायिक विद्यालयमा अहिले पनि अठार किसिमका शिक्षकहरु कार्यरत भएको पाइन्छ । राज्यले शिक्षक व्यवस्थापनको लागि दिगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिले सम्म शिक्षक स्थायी गर्ने सम्बन्धी कतिपय मुद्दाहरु जिउँका तिउँ रहेका छन्।
अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि विगतमा अनगिन्ती समिति र प्रतिबेदन तयार भएता पनि आसातित उपलब्धी हुनसकेको छैन्। अस्थायी शिक्षकका समस्याहरु लामो समयसम्म स्थायी रहिरहनु लोककल्याणकारी राज्यको उपहास हो । स्थायीरुपमा देश विकासको अपरिहार्य आधारभूत शर्त शिक्षाजस्तो संवेदनशील क्षेत्रमा राज्यको उदासिनता हुनु दुखद हो। शिक्षा क्षेत्रमा देखिएका अनगिन्ती समस्याहरुमध्ये लामो समयसम्म अस्थायीरुपमा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट स्थायी गर्ने तौरतरिका विवादरहित हुनसकेको छैन्।
बर्षौं अध्यापन गरेका शिक्षकहरु एक्कासि शिक्षक सेवा आयोगको परीक्षा दिनुपर्दा हच्केको पाइन्छ । विद्यार्थीको परीक्षामात्र लिएका आफूले कहिल्यै परीक्षा नदिएका उमेर ढल्किसकेका शिक्षकहरुका लागि आयोगको प्रतिष्पर्धात्मक परीक्षा काउसो बनेको छ । नखाउँ भने दिन भरीको सिकार खाउँ भने कान्छा बाबुको अनुहार भनेजस्तै भएको छ । राज्यले पनि अस्थायी शिक्षकका मागहरु किस्ताबन्दीमा पूरागर्ने प्रबृतिका कारण समस्या र विवाद बल्झिरहेको छ । सामान्य मागहरु पूरा गराउन आन्दोलन नै गर्नुपर्ने, आन्दोलन अगाडी पूरा गर्न नसकिने भनिएर टकटकिएका मागहरु पछि लुरुक्क पूरा गर्ने तर सम्झौता अनुसार कार्यान्वयन नगर्ने राज्यको चरित्रका कारण एकआपसमा विश्वासको संकट हुनु स्वभाविकै हो। आन्दोलनकारी अस्थायी शिक्षकका लागि खाए खा नखाए घिचको शैलीमा विवाद व्यवस्थापन गर्न राज्य तम्सिएको भन्ने गुनासो सत्यताको नजिक छ ।
विद्यमान नीति अनुसार परीक्षा नदिइ स्थायी हुन नसकिने भएकोले परीक्षाबाट डराउनु भन्दा पनि तयारी गरेर सम्मिलित भै स्थायी हुनुको विकल्प अहिले सम्म अगाडी आएको् छैन्। हुन त हामी कहाँ २०४८ सालमा अस्थायी शिक्षकहरुलाई सामान्य प्रक्रिया पु¥याएर स्थायी गरिएको नजिर पनि छ । तथापि अहिलेको परिस्थतीमा स्वतह स्थायी हुने कल्पना धेरै परको विषय हो। तसर्थ अस्थायी शिक्षकहरुले धैर्यतापूर्वक परीक्षाको तयारी गरेर सशक्त र सहजरुपमा परीक्षा दिएर स्वाभिमानीपूर्वक स्थायी हुनु नै उत्तम विकल्प हो। शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि स्थायी गर्नको बिज्ञापन गरेर परीक्षाको मिति समेत तोकीसकेको छ ।
लामो समय सम्म अस्थायीरुपमा कार्यरत शिक्षकहरु परीक्षा दिनको लागि जुटेका छन्। यस प्रतिष्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरुको आकर्षक र मौलिक ठोस उत्तर दिन सक्ने कौशलताले अहम् भूमिका खेलेको हुन्छ । आयोगको परीक्षामा सफलता हासिल गर्न 3C = Content, Context & Communication मा विशेष ध्यान दिनु उचित हुन्छ । Content अर्थात विषयवस्तुको बहुआयमिक अध्ययन हुनु जरुरी छ,। बिषयस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई मौजुदा समसामयिक परिवेश Context मा समायोजन र सम्बोधन हुनेगरी सहज र सरल भाषामा शटिक उत्तर communicate गर्नु बुद्धिमानी ठहर्छ । प्रश्नको परम्परात सोझो उत्तरभन्दा पनि innovative खालको तर्कपूर्ण मौलिक उत्तरहरु अधिक अंक प्राप्त गर्न लायक हुन्छन्। परीक्षाको तयारी क्रममा विभिन्न उपायहरु अपनाएर घनिभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लूहरुको जानकारी राख्नु बुद्धिमानि ठहर्छ । परीक्षाको तयारीका लागि स्रोत सामग्रीहरु पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरु, विशिष्टीकरण तालिकालाई विशेष आधार मान्न बिर्सनु हुन्न । विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाई, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ । पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमूना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरुको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न सकिन्छ ।
आयोगबाट निकट भविष्यमा लिइने स्थायी शिक्षकको परीक्षाको तयारी तथा सोधिने बहुवैकल्पिक प्रश्नहरुको उत्तर कसरी दिने भन्ने बारेमा केही टिप्सहरु यहां प्रस्तुत गरिएको छ ।