महिला राष्ट्रपति भएको देशमा ‘बलात्कारीलाई फाँसी दे’ भन्ने मुद्दाले कहिल्यै न्याय पाएन

अनलाइन दर्पण 2018-07-29
img

  केबी गुरुङ

‘कानुनमा यो कुरा टाँसी दे, बलात्कारीलाई फाँसी दे’ कठै मेरो देश । आफु बाँच्नका लागि दिनहुँ गुन्जि रहने देशका छोरीहरुको चित्कार हो यो। जुन देशमा दिनरात छोरीहरु बलात्कारीको सिकार भैरहेका छन् र जहाँ आफु बाँच्नलाई दिनहुँ ‘बलात्कारीलाई फाँसी दे’ भन्नु परेको छ । तर पनि मृत्युवरण गर्नु परेको छ ।

दोबाटो र चौघाटोमा सिकारी झैँ बथान बसेका बलात्कारीहरुको आक्रमणले कलिला छोरीहरु लाउला खाउला भन्दाभन्दै प्राण त्यागि रहेका छन् ।

कंचनपुरकी १३ बर्षिया निर्मला पन्त बलात्कारीको सांघातिक आक्रमण हुँदा यो धर्ति छोडिन । अझै कतिले छोड्ने हुन् थाहा छैन ।

बलात्कारीको संक्रमणकालमा बाँचेका देशका छोरीहरुले ‘सरकार बलात्कारीलाइ फाँसी दे, म अझै बाँच्न चाहान्छु भन्दाभन्दै निर्मलाहरुले धर्ति छोडी रहेका छन् । यहि हो देशका छोरीहरुको भाग्य अनि दशा ।

गाउँको शिक्षा सबैलाई थाहा छ, जुन शिक्षाले बालबालिकाहरुलाई संधै मर्नु नबाँच्नुको दोसाँधमा उभ्याई रहन्छ । पढ्नलाई प्रयाप्त सुविधा नहुँदा साथीभाईहरुको सहारामा ज्ञान गुण बाढ्नु पर्ने विवसता छ ।

यहि शिक्षा लिन राजनेताका छोराछोरीहरुले कुनै अभाव खेप्नु पर्दैन । उनीहरुका लागि निजि शिक्षक घरमै ब्यबस्था हुन्छ, नभए होस्टेलको ब्यबस्था हुन्छ । त्यसमाथि सुरक्षाको ग्यारेन्टी हुन्छ ।

तर यस्तै विभेदको चपेटामा परेकी निर्मला पन्त जेनतेन दुख गरेर राम्रो मार्क ल्याउने सपना पनि अधुरै तुहिन्छ । आफु पढेर आमा बाबाको सपना सजाउने रहर साँचेर कापी र कलम बोकेर साथीको घरमा ज्ञान सिक्न हिडेकी निर्मला बीच बाटोमै हराइन।

दुख लाग्छ, देशको कुना कन्दरामा राज्यले दिने अधुरो शिक्षाले यस्तै पढ्न चाहाने छोरीहरुलाई स्पातिलो कहिलै बनाएन, बरु जिन्दगि नै हराउन विवश तुल्यायो ।

देशको अर्थ तन्त्रले छोरीहरु घरमै बसेर पढ्ने वातावरण नभए पनि राज्यको बलियो सुरक्षा व्यवस्था हुँदो हो त, निर्मला जस्ता छोरीहरु निस्फिक्री भएर शिक्षा आर्जन गर्न साथीको घरमा मात्र हैन, देशको जुनसुकै कुनामा पुग्न सक्थिन। चाहेको शिक्षा आर्जन गर्न सक्थिन तर फितलो सुरक्षा व्यबस्थाको आडमा बलात्कारीहरुले अबोध बालिका निर्मलाको सिकार गरेरै छाडे ।

सम्मानित राष्ट्रपति ज्यु !

हजुरले सामाजिक संजालमा बलात्कार पछी हत्या भएकी निर्मला पन्तको तस्बिर हेर्नु भएको छ कि छैन ? फुर्सद भए एकपटक हेर्नुहोला । कमसेकम छोरीका लागि कानुन बनाउने आँट तपाईलाई मिल्नेछ ।

तपाईका पनि दुइवटी छोरीहरु छन् । एक पटक मन मस्तिष्कबाट सम्झनु होस त ! ति छोरीहरुले निर्मला पन्तको जीवन ग्रहण गरेको भए र निर्मला पन्तकी आमाको जीवन तपाईले ग्रहण गरेको भए, तपाईको त्यो ढुङ्गा जस्तो मन उस्तै कठोर हुन्थ्यो होला र ?

अनि छोरी बलात्कार गर्नेहरुलाई फाँसीमा झुन्ड्याउने कानुन बनाउन तपाईलाई कसले रोक्न सक्थ्यो र ! बलात्कारीलाई कडा कानुनको व्यवस्था भए निर्मला जिन्दगी भरीलाई बाँच्न पाउने थिइन ।

एक पटक निर्मला पन्तको विभत्स फोटो हेरेर भन्नुस, त्यस्तो जीवन कुन आमा बाबाका छोरीहरुले ग्रहण गरुन भन्ने लाग्छ ?फितलो कानुनको आडमा हजारौ छोरीहरु निमोठ्ने तपाईको देश यसरि कहिले सम्म चल्ने हो ?

छोरीहरु असुरक्षित हुने इतिहास पुरानो हो । हिजो राजाहरुले सुन्दर छोरीहरुलाई जबर्जस्त रखेल राख्ने प्रथा थियो रे, आज त्यो प्रथा भंग भयो तर गाउँशहरमा जन्मिएका बलात्कारीहरुलाई तह लाउन नयाँ संबिधानमा छोरी संरक्षणका लागि लेखिएको कानुन हदै सम्मको फितलो भयो।

यदि त्यो संबिधानको कानुन च्यातेर बलात्कारीलाइ फाँसी दिने कानुन लेख्ने तपाईको हिम्मत भए, यो देशका छोरीहरु भन्दा पहिले छोराहरुले तपाईलाई सलाम ठोक्ने छन् ।

तर आज सपनाको सहर राजधानीमा निर्मला पन्तको मुद्दा ओझेलमा परेको छ । दुनियाँलाई स्तब्ध पार्ने निर्मला पन्तको विभत्स तस्बिर देखेर तपाईको सरकार किन मुख दर्शक बनेको छ ? हामी नागरिक संग अचम्म मान्नु बाहेक बिकल्प नै रहेन।

‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा छोरीकै लागि हतियार

प्रिय छोरीहरु हो, तिम्रो कर्मलाई दोष दिंदै भन्नै पर्ने भएको छ, के तिमीहरु नेपाल भन्ने देशमा जन्मिनु अभिशाप नै भयो त ? अनि तिमीहरु संधै बलात्कारीलाई फाँसी दे भनेर जिन्दगिभर ब्यार्थै चिच्याई रहनु पर्ने हो त ?

कि अब आफ्नो भाग्य आफै कोर्ने हो ? हुन् त भाग्य कोर्न तम्सिएका नारीहरुले देशकै भाग्य बिगारेका छन् ।

यो देशका राष्ट्रपति ज्युले बलात्कारीलाइ फाँसी दे भनेर नारा लगानु पर्यो या परेन थाहा भएन तर गणतन्त्रको आगमन पछी मन्त्रि र सांसद बनेका हरेक महिलाहरुले ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा लगाएरै सत्तामा पुगेका हुन् ।

सर्बहारा बर्गको सरकार मानिएको बर्तमान कम्युनिष्ट सरकारमा बहाल भएका खानेपानी मन्त्रि बिना मगर ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा धसेरै आज मन्त्रि बनेकी पात्र एक उदाहरण हुन् ।

पुर्व माओबादी महिलाहरु पनि यहि नारा दिएर वर्तमान सरकारको धेरै सांसद बनेका छन् ।

एमालेकी चर्चित नेत्री राम कुमारी झाँक्री र नबिन लामाले पनि ‘बलात्कारीलाई फाँसी दे’ भन्दै सडक तताएर सांसद बने । अझ भन्नु पर्दा ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा कम्युनिष्टहरुको कठोर र शशक्त नारा बन्यो ।

तर यस्तै नारा भजाएर मन्त्रि, सांसद बन्ने थुप्रै पुरुषहरु त दिउँसो मै निदाए तर विडम्बना महिलाहरु पनि निदाए । अनि बलात्कारीलाई फाँसी हुने कानुन नयाँ संबिधानमा कसैले दाखिला गर्न सकेन।

बरु देशका छोरी-चेलीहरु बलात्कृत हुँदा, यिनले स्थान ओगट्ने राजनीतिक मुद्दा बन्यो, त्यो ‘बलात्कारीलाइ फाँसी दे’ शब्दावली। समानुपातिक सहभागिता भएर पद पाउने हतियार बन्यो तर बलात्कारीलाई सजाय दिने कानुन कहिलै बन्न सकेन र अझै बन्ने स्थिति पनि देखिदैन ।

यस्तो लाग्छ, आज सडकमा ‘बलात्कारीलै फाँसी दे’ भन्नेहरु कुनै पद पाउन छेडिने दुर्गन्धित डकार जस्तो लाग्न थाल्यो ।

त्यसैले महिलाहरुलाई नै प्रश्न गर्न मनलाग्छ, तिम्रो देशमा महिला राष्ट्रपति हुँदा पनि छोरीहरुको संरक्षणका लागि बलात्कारीलाई फाँसीको चुलीमा लटकाउने कानुन बनाउन कस्ले रोक्यो ? कानुनको रखवालाहरु महिला नै छन् तर पनि छोरीहरु नै असुरक्षित छन् किन ?

समानुपातिक सहभागितामा ३३ प्रतिशतले छोरीहरुको सुरक्षाका लागि के गर्यो ? महिला हिम्सा र अधिकारको अर्थ के हो ?

अन्तमा यो भन्नै पर्छ, तिम्रा दुश्मनहरु तिम्रै लैंगिक समानता खोज्ने छोरीहरु हुन् । अझै बुझेनौ भने, सिधा भाषामा भन्नु पर्दा, छोरीहरुको पहिलो दुश्मन ‘राष्ट्रपति बिद्या देवी भण्डारी’ हुन् । किन कि उनि राष्ट्रपति हुँदापनि छोरीहरुको मुद्दा अलपत्र पर्यो र आज १३ बर्षे निर्मलाहरु मरी रहे।

त्यसपछिका महिला दुश्मनहरु, राज्य सत्ताको भत्ता खाएर सत्तामा बसेका महिला मन्त्रीहरु हुन्, संसद भवन भित्र बसेका महिला सांसदहरु हुन् । न्यायलयमा बसेका महिला न्यायधिसहरु हुन् ।

जाँदा जाँदै एउटा घटना स्मरण गराउन चाहान्छु । कानुन मन्त्रि शेर बहादुर तामांगले केवल महिलाको इज्जत माथि प्रश्न उठाए बाफत आज बर्खास्त भए ! यो कदमको सम्मान गर्छु तर बलात्कारीलाइ फाँसीको कानुन बनाउन मौन बस्ने महिला राष्ट्रपति, मन्त्रि, सभासदहरु तथा सम्बन्धित निकायहरु निर्मला पन्त बलात्कृत भएर ज्यान गुमाउदा समेत किन मौन छन् ? यस्ता स्वार्थी नारीहरुलाई तह लाउनु पर्दैन ?-श्राेत;पाेष्टपाटीडटकम

सम्बन्धित समाचार

Advertisement