"मिमी बेकेची"
अनेक प्रकारका खाना पर्याप्त रूपमा उपलब्ध विकसित र विकासोन्मुख देशका मान्छेले बिफ बर्गर (गाईको मासु हालेको बर्गर) को सट्टा बिट बर्गर (चुकन्दर प्रयोग भएको बर्गर) खान थाले के होला ? गाई नखानेबित्तिकै गाईको संख्या बढेर तिनले मान्छेलाई भने खाने छैनन् है ! साँच्चै सबैले मासु खान छोड्ने हो भने संसारमा के होला ?
खाने मासुको स्रोत तपाईंकै गाउँबजारमा हुर्काइएको होला, तर तिनलाई खुवाउने दानापानीबारे कहिल्यै सोच्नुभएको छ ? विश्वमा भएका सबैखाले अन्न र पोसिलो भटमास शाकाहारी र विशुद्ध शाकाहारीले मात्र खाएर सकिएको होइन। तपाईं हामीले खाने मासुका लागि संसारको धेरै प्रतिशत अन्न खर्च हुने गरेको छ। किनकि मासु बनाउन जनवारलाई पनि अन्न नै खुवाउनुपर्छ। अचम्म लाग्ला तर विश्वमा उत्पादन भएको ९७ प्रतिशत भटमास जनावरलाई खुवाउनकै लागि फलाइन्छ। अहिले नै विश्वबाट भोकमरी हटाउने हो विश्वलाई चार करोड टन अन्न आवश्यक छ। विश्वभर प्रत्येक वर्ष यसको चार गुणा बढी अन्न मासुका लागि पालिएका जनावरलाई खुवाउन प्रयोग गरिन्छ।
विश्वको ८५ करोड जनसंख्याले टन्न खान नपाउने अवस्थामा खानयोग्य अन्न मान्छेलाई सीधै खुवाउनुको सट्टा बर्गर र अन्य मासुजन्य परिकारका निम्ति खर्चनु आफैंमा नराम्रो अपव्यय हो। सामान्यतः एक पाउन्ड मासु उत्पादन गर्न ६ पाउन्ड अन्न लाग्छ। मासु बन्न लाग्ने जमिन, पानी, जनशक्ति र अन्य स्रोतको कुरै छोडौं,। त्यसैले मानौं, संसारमा एउटै मात्र बच्चो भोको बाँकी भएको अवस्थामा पनि यसरी अन्न नास गर्नु अनुचित हो भने ८५ करोड जनसंख्या भोको रहँदा मासु उपभोग अनुचित हो।
विकसित देशमा जमिनको ठूलो हिस्सा ‘फ्याक्ट्री फार्म’ (जनावर पाल्ने खोर, गोठ आदि) लागि प्रयोग हुँदैछन्। कुखुरा, बंगुर, सुँगुर, गाई, भैंसी, भेडा, बाख्रा, हाँस र कुखुरा राख्नका लागि मात्रै होइन, तिनलाई खुवाउने अन्न, घाँस, पराल र औषधीजस्ता चीज राख्न पनि जमिनको ठूलो भाग प्रयोग हुन्छ। विकासोन्मुख देशमा अचेल पशुउद्योगको आधुनिकीकरणका नाममा फ्याक्ट्री फार्म खुल्दैछन्। जनावरलाई यसरी वनस्पतिबाटै बनेका खाना खुवाएर त्यसबाट प्राप्त मासु र मासुजन्य खाना खानुको साटो वनस्पतिजन्य भोजन खाने हो भने अति नै थोरै जमिनबाट पनि तपाईंले पर्याप्त पोषण पाउनुहुन्छ।
दिगो खाद्य परियोजनाहरूमा सहयोग गर्ने ‘भेगाफार्म’ नामको एक परोपकारी संस्थाका अनुसार १० एकड जमिनमा भटमास खेती गर्ने हो भने त्यसले ६० मान्छेलाई धान्न सक्छ, गहुँ खेती गर्ने हो भने २४ मान्छेलाई धान्न सक्छ र मकै खेती गर्ने हो भने १० जनालाई लाई धान्न सक्छ तर पशु पालेर मासु खाने हो भने त्यति जमिनले जम्मा दुईजनालाई धान्न सक्छ। नेदरल्यान्डका वैज्ञानिकको अनुमान छ– अहिले जनावर चराउन प्रयोग भएको २.७ अर्ब हेक्टर जमिन र जनावरका लागि अन्न फलाउन प्रयोग भएका दस करोड हेक्टर जमिन विश्वव्यापी बढ्दै गरेको शाकाहारी आहारका कारणले खाली हुँदैछन्। यो सुखद् संकेत हो। बेलायतकै कुरा गर्ने हो भने सन् २०३० सम्म यहाँको जनसंख्या सात करोड हुने अनुमान छ। यही दरमा यहाँका मान्छेले मासु र पशुजन्य उत्पादन प्रयोग गरिरहने हो भने २०३० सम्म अहिले भएको सम्पूर्ण जमिन थोरै पनि खाली नराखी प्रयोग गर्नुपर्नेछ।
धेरै औद्योगिक फार्महरूमा जनावरहरूलाई जीवनभर एकै ठाउँमा थुनेर र बाँधेर राखिन्छ। उनीहरूलाई चल्न र चट्पटाउनसमेत नसकिने अवस्थामा राखिन्छ। उनीहरूले प्राकृतिक रूपमा पाउने व्यवहारको कुरै छोडौं, तिनले न चर्न पाउँछन् न आफ्ना बाच्छा, पाडा, पाठा र चल्लालाई माया जनाउन नै पाउँछन्। जबकि प्राणीले पनि आफ्ना सन्तान र माउलाई देखाउने माया, क्रोध र सहयोगजस्ता व्यवहार पूर्णतः आवश्यक र प्राकृतिक हुन्।
कतिपयले त उनीहरूलाई मार्नका लागि वधशालामा लाने दिनबाहेक जीवनभर घामको किरण नै देख्न र खुला आकाशको हावा खानै पाउँदैनन्। यस्ता पीडित जनावरलाई यस्तो असाध्य कष्टबाट मुक्त गर्ने सबैभन्दा राम्रो उपाय भनेकै मासु र पशुजन्य उत्पादन नखानु हो।
धेरै संख्याका जनावर, कुखुरा र हाँस एकै ठाउँमा जनावर पाल्दा ती धेरै रोगी हुन्छन्। एकको रोग अर्कोमा सरिरहन्छ। त्यसो हुँदा फ्याक्ट्री फार्महरू नयाँ खालका ब्याक्टेरिया र भाइरस उत्पादन गर्ने केन्द्र बनिरहेका छन्। बंगुर, सुँगुर, कुखुरा र अन्य जनावरलाई फोहोर र तनावयुक्त अवस्थामा हुर्काउन र बचाउनकै लागि निरन्तर औषधी हालिएको एउटै प्रकारको खाना खुवाइन्छ। यसो गर्दा औषधीको प्रभाव नै रोक्ने डरलाग्दा सुपरबग (ब्याक्टेरिया÷भाइरस) को विकास हुन्छ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका एक वरिष्ठ अधिकारीले व्यापक रूपमा भइरहेको पशुको औद्योगिक फार्मिङलाई ‘उदीयमान रोगहरूको अवसर’ का रूपमा व्याख्या गरेका छन्। जबकि अमेरिकाको सरकारी निकाय–रोग नियन्त्रण र निवारणले घोषणा गर्यो कि ‘जनावरहरूलाई खुवाइने र प्रयोग हुने धेरैजसो एन्टिबायोटिक अनावश्यक र अनुचित हो र यसले सबै उपभोक्तालाई असुरक्षित बनाएको छ।’
मोटोपनाले धेरै बेलायतीको ज्यान लिइरहेको छ। परीक्षण नगरी छोड्ने हो भने मोटोपनाकै कारण देशको स्वास्थ्य सेवा टाट पल्टिने बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा नामक निकायले चेतावनी दिएको छ। मासु, दही, दूध, घिउ, पनिर र अन्डामा हुने कोलेस्टरल र स्याचुरेटेड फ्याट नै मोटोपनाको मुख्य कारक हो। बेलायतमा मान्छेहरूको अकाल मृत्युको कारक बनेको हृदयाघात, मस्तिष्कघात, मधुमेह र अनेक प्रकारका क्यान्सरका कारक पनि मोटोपना हो।
उसो त शाकाहारी र विशुद्ध शाकाहारी (जनावरबाट प्राप्त हुने दूध, दही र घिउ केही पनि नखाने र जनावरसम्बन्धी केही पनि प्रयोग नगर्ने) हरू पनि मोटोपनाबाट ग्रस्त छन्, जसरी मासु खाने व्यक्ति दुब्ला भएका उदाहरण पनि छन्। तर सालाखाला, मासु खाने व्यक्तिको तुलनामा विशुद्ध शाकाहारी मोटो हुने सम्भावना १० गुणा कम हुन्छ। जनावरबाट प्राप्त दही, दूध, घिउ र माछामासुको सट्टा फलफूल, सागसब्जी र अन्न खाने हो भने अनावश्यक मोटोपना झेल्नु पर्दैन। त्यतिमात्र होइन, हामी विशुद्ध शाकाहारी हुने हो भने अनेक खालका स्वास्थ्यजन्य समस्याबाट पूर्णरूपमा मुक्तसमेत हुन सक्छौं। विशुद्ध शाकाहारी हुनेबित्तिकै संसार हामीले सोचेजस्तो पूर्णरूपमा सुन्दर त नहोला तर यसले विश्वलाई झनै दयालु, हरियोपरियो र स्वस्थ बनाउन सहयोग गर्नेछ।
—दि इन्डिपेन्डेन्टबाट।