माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

अनलाइन दर्पण 2018-04-14
img

  लीना खड्का

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् । सानातिना कुराहरुलाई ध्यान नदिंदा न उनीहरु स्वयं खुसी हुन्छन्, न माइती पक्षलाई नै खुसी राख्न सक्छन् । महिलाहरुले थोरै सर्तकता अपनाउन सकेको खण्डमा माइतमा प्यार र आदर नपाइने कुनै कारण छैन । माइती भएकी एउटी महिलाको नाताले आम दिदीबहिनीलाई मेरा केही सुझाव :

सबैभन्दा जरुरी कुरा, विना सूचना माइत जानु राम्रो होइन । पहिले फोन या कुनै अर्को माध्यमद्वारा माइतीहरुको हालखबर वा तत्कालका योजनाहरुबारे पत्ता लगाउनुपर्छ । माइतीको कहीँ बाहिर जाने योजना पो छ कि ? उनीहरुको बालबच्चाको परीक्षा त छैन ? यदि परीक्षा हुनेवाला छ भने तत्कल नजानु नै उत्तम हुन्छ । केही महत्वपूर्ण औपचारिकताहरु अपनाउँदा आपसी सम्बन्धमा सद्भाव र स्नेह बढ्छ भने त्यसलाई निभाउनुपर्छ । 

माइत जाँदा केही उपहारहरु अवश्य लैजानुहोस् । बालबच्चाका लागि लुगाफाटा, फलफूल र विस्कुटहरु लिएर जानुहोस् । भाई, बहिनी, भाउजू, बुहारीका लागि आफ्नो सामथ्र्यले भ्यायसम्म केही सानातिना बस्तुहरु अवश्य लैजानुहोस् । यसले स्नेह र निकटता बढाउँछ । भुलेर पनि आफ्नो सम्पन्नताको बखान नगर्नुहोस् । कुनै अमूक बस्तु दिएर उनीहरुमाथि दया देखाएको महशुस हुने काम पनि  नगर्नुहोस् । यसो गर्नुभयो भने मधुरताको सट्टा कटुता बढ्ने सम्भावना हुन्छ । दिदी बहिनीहरु पनि माइती आएका रहेछन् भने, उनीहरुलाई  पनि भेदभाव नराखी शिष्टाचारका नाताले केही सानातिना उपहार लगिदिनु उत्तम हुन्छ । त्यो सम्भव नभए छुट्टिने बेला उनीहरुका केटाकेटीको हातमा केही दक्षीणा राखिदिनु राम्रो हुन्छ । यसले परस्पर स्नेह बढाउँछ । संयुक्त परिवार छ भने आफ्नो औकातअनुसार नछुटाइकन उपहार  लगिदिनुहोस् । 

माइतमा हरेक महिलाले आफूलाई त्यहाँको पाहुना ठान्नुपर्छ । कुरैपिच्छे हकदार भएर बोल्नु हुँदैन । कसैका कुरा यता र उता गराएर झगडा गराउने गल्ती कहिल्यै गर्नु हुँदैन । यस्तो व्यवहारले सधैँ घाटामात्रै हुन्छ । र, अरुले छुच्ची महिलाका रुपमा औंल्याउन थाल्छन् । कुनै व्यक्ति पनि आफ्नो आलोचना सुुन्न चाँहदैनन् । आलोचना गरेर वातावरणलाई दूषित नबनाउनुहोस् । माइती पक्षका कमजोरी, गरिबी र बाध्यताको खिल्ली नउठाउनुहोस् । तपाईंका बालबच्चा र पति यस्तो गर्छन् भने पनि सम्झाउनुहोस् । सबैले आफ्नो अभाव र कमजोरी बुझेकै हुन्छन् । त्यसैले खिल्ली उडाएर दुःख पु¥याउनुभन्दा सहानुभूतिका दुई शब्द भनिदिएर उनीहरुलाई सान्त्वना दिनु उचित हुन्छ । केही भाञ्जाभाञ्जीहरु आफ्ना मामाहरुलाई खुबै छेडछाड गरिरहेका हुन्छन् । ‘मामा तपाई त कत्ति कञ्जुस हुनुहुन्छ ? सिनेमा पनि देखाउनु हुन्न, न लुगा किनिदिनु हुन्छ । तपाईको घर कति सानो ? लोभी मामा !’ भनेर जिस्क्याइरहेका पनि हुन्छन् । बच्चाहरुको मुखबाट यस्ता कुरा निस्कनु राम्रो होइन । त्यसैले केटाकेटी लिएर माइत जाँदा यस्ता कुरा नबोल्न, धेरै चकचक गरेर दुःख नदिन र यो खान्छु, उ खान्छु भनी हैरान नपार्न सिकाएर लानुहोस् । बरु आफ्नै घर ठानी केही काममा सघाउन लागाउनुहोस् । यसले आत्मीयता बढाउँछ ।  र माइती पक्षले फेरि पनि बोलाइरहन्छन् । 

माइती घरलाई आराम गृह मात्रै नठान्नुहोस् । भाउजू, बुहारी, आमा, काकी सबैलाई सघाउनुहोस् । यसले तपाईको इज्जत बढाउँछ । आफूलाई मन प¥यो भन्दैमा माइतीमा भएको सामान नमाग्नुहोस् । आमा बुढीलाई किन चाहियो र ? भन्ने भावना नलिनुहोस् । ‘म यो लान्छु, तपाईं अर्को किन्नुहोस्’जस्ता शब्दहरुले कटुता पैदा गर्छ । विहेको समयमा जेजति सामानु पाउनुभयो त्यतिमै सन्तोष गर्नुहोस् र अरु सामानमा आफ्नो अधिकार छैन भन्ने ठान्नुहोस् ।

माइतबाट फर्कने समयमा माइतीले धेरै दिन सकेनन् भनेर चित्त नदुखाउनुहोस् । हरेक माइतीले छोरीलाई भएसम्म धेरै दिन खोज्छन् । घर फर्कँदा माइतीमा कोही सहयोगी छन् भने केही रुपैंया हातमा हालिदिएर शिष्टाचार निभाउनुहोस् र माइतीपक्षलाई पनि मेरो घरमा आउनुहोला भनी निम्तो दिन नभुल्नुहोला । घर आइपुगेर आफू सकुशल आइपुगेको खवर पनि गर्नुपर्छ । माइत भन्नु नै महिलाको बाल्यकालको घर हो । त्यसप्रति पनि तपाई हाम्रो कर्तव्य हुन्छ । तपाई जतिसुकै ठूलो घरको बुहारी हुनुहोस्, तर माइतीको त केवल छोरी नै हुनुहुन्छ । आफ्नो स्वभावलाई तारिफयोग्य बनाउनुहोस् । सबैसँग मेलमिलाप राख्नुहोस् र नम्रतापूर्वक बोल्नुहोस् । यसो गर्नुभयो भने तपाईं अरुको नजरमा माथि नै उठ्नु हुनेछ । सबैले भन्नेछन्– हेर ती फलानी नानी त्यती धनी व्यक्तिकी पत्नी भएर पनि रत्तिभर घमण्ड छैन । आफ्नो बंगला, मोटर, भान्से, नोकरचाकर सबै छन्, तर पनि हरेक ठाउँमा बिहे हुनुभन्दा अघिकैजस्तै छिन् । अलिकति पनि नबदलिएकी, माइतमा सबैले गर्व गर्न लायक तपाईको व्यवहार होस् । 

सम्बन्धित समाचार

Advertisement