निर्माण व्यवसायी संघ भक्तपुर काे १७ अाै‍ साधारण सभा सम्पन्न, बोलपत्रमाथिको सिण्डिकेट अन्त्य हुनुपर्ने व्यवसायीकाे माग

अनलाइन दर्पण 2018-02-04
img

भक्तपुर, २२ माघ । निर्माण व्यवसायी संघ भक्तपुरकाे सत्रौ बार्षिक साधारण सभा आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारले निर्माण सम्पन्न भइसकेको कामकाे समेत भुक्तानी नगरेको गुनासो गर्नुभयो । उहाँले ठुला र पहुँचवाला व्यवसायीको कुरा सुनेर सरकारले निर्णय गर्ने गरेको तर, महासंघले गरेका संस्थागत निर्णयहरुको वेवास्ता गर्ने गरेको बताउनुभयो । उहाँले अब बन्ने नयाँ सरकारसँग समन्वय र सहकार्य गर्न समेत आग्रह गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायी दिनानुदिन असुरक्षित बन्दै गएको भन्दै सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउनुभयो । पछिल्लो समयमा भारतले निर्माण सामाग्रीका कच्चा पदार्थमा गरेको मूल्य बृद्धि र सिण्डिकेटका कारण भएको मूल्य बृद्धिले आम उपभोक्ता मारमा परेको बताउँदै उहाँले मूल्य बृद्धि नियन्त्रण गर्न सरकारले कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका महासचिव रामशरण देउजाले बोलपत्रमाथिको सिण्डिकेट अन्त्यका लागि विट क्यापासिटी लागु गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले निर्माण सामाग्रीमा अस्वभाविक रुपमा भएको मूल्यबृद्धिले निर्माण व्यबसायीलाई काम गर्न समस्या परेको बताउँदै मूल्य बृद्धि नियन्त्रण नभए पुर्ननिर्माणलाई समेत प्रभाव पार्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार रमेश शर्मा र यक्षध्वज कार्कीले निर्माण व्यवसायीसंग चन्दा माग गर्ने, धम्क्याउने क्रम नरोकिएको बताउँदै व्यवसायीले सुरक्षाको प्रत्याभूति गर्ने अवस्था सिर्जना नभएको बताउनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सरकार र निजी क्षेत्रले सहकार्य गरे अगाडि बढ्न सकेमात्र आर्थिक सम्मृद्धी सम्भव रहेको बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले विकास र सम्मृद्धीका लागि सरकारले सरोकारवाला पक्षसँग नितिगत रुपमै योजना निर्माण गरेर जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा व्यवसायीहरुले निर्माण व्यवसाय कमिसनको दलदलमा डुबेको र व्यवसायीलाई हेर्ने समाजको नजर राम्रो हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।

 गोली हानी मारिएका केन्द्रिय अध्यक्ष शरद गौचनलाइ सम्झदै सधैभरि ‘सेक्युरिटी थ्रेट’ लिएर काम गर्न गाह्रो हुने व्यवसायीहरुले गुनासो समेत गरेका थिए ।

कार्यक्रममा निरन्तर सम्मान अन्तर्गत लालिगुराँस निर्माण प्रालिका देवी कुमारी न्याैपाने, कोहिनुर निर्माण सेवा प्रालिका राजु बखाधो, आरके निर्माण सेवाका रामकृष्ण त्वयनालाइ २० बर्षदेखि निरन्तर सकृय भए बापत कदर पत्र सहित सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा निर्माण व्यवसायी  हरिकृष्ण ब्यान्जुकाे छोरी पूजा ब्यान्जूलाइ इन्जिनियरीङ उतीर्ण गरेबापत प्रशंशा पत्र पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी उक्त अवसरमा संघका दिबंगत सदस्यका परिवारलाइ नगद सहयोग समेत गरिएको थियो ।

कार्यक्रममा संघका महासचिव विजय देउजाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Advertisement