चीनकी एक महिलाको लागि २०१८ को सुरुवात निकै सफल रह्यो । उनले २०१८ को पहिलो हप्तामै यति धेरै कमाइ गरिन् जसले विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कमाइलाई पनि उछिनेको छ।
चीनकी सबैभन्दा धनी महिला यांग हुइयानले आफ्नो व्यवसाय रियलस्टेटबाट २०१८ को पहिलो हप्तामै साढे ६२ हजार करोड नेपाली रुपैयाँबराबरको कमाइ गरेकी छिन् । यति ठूलो परिमाणमा हप्तामै टर्नओभर बढाउनेमा अमेजनका सिइओ जेफ बेजोसले मात्रै उनलाई जितेका छन् । बेजोसको १ हप्ताको टर्नओभर ६७ हजार करोड नेपाली रुपैयाँ बराबरले वृद्धि भएको छ ।
यांग चीनको रियलस्टेट क्षेत्रको सबैभन्दा ठूलो कम्पनी ‘कन्ट्री गार्डेन होल्डिङ्सकी’ भाइस चेयरपर्सन हुन् । कम्पनीको कारोबारमा वृद्धि हुँदा २०१८ को पहिलो व्यवसायिक हप्ताका यांगको सम्पत्ति झण्डै साढे ६२ हजार करोड नेपाली रुपैयाँ बराबरले बढेको छ । कम्पनीको कारोबार बढेसँगै कम्पनीको हङकङ मार्केट स्टकमा १० दिनमा २३ प्रतिशत वृद्धि भएको छ । महिनाभरमा कम्पनीको शेयर ५० प्रतिशत बढेको छ ।
३६ वर्षकी यांग चीनकी सबैभन्दा कान्छी अर्बपति हुन् । मार्केटिङमा स्नातकसम्म पढेकी यांगले यो कम्पनी पिताबाट पुख्र्यौली सम्पत्तिको रुपमा पाएकी थिइन्। अस्ट्रेलियामा पनि उनको रियलस्टेटको कारोबार छ । २००५ मा उनका पिता यांग गुओकियांगले उनलाई आफ्नो उत्तराधिकारी घोषित गर्दै आफ्ना सबै शेयर छोरीको नाममा गरिदिएका थिए । यांक ब्राइट स्कलर एजुकेशन होल्डिङकी चेयरपर्सनसमेत हुन् । यो चीनमा अन्तर्राष्ट्रिय र द्विभाषी स्कुल चलाउने सबैभन्दा ठूलो कम्पनी हो।
ब्लुमबर्ग बिलियनेयर्स इनडेक्समा संसारका दोस्रो सबैभन्दा धनी बिल गेट्सको सम्पत्ति भने झण्डै १५ हजार करोड नेपाली रुपैयाँ बराबरले वृद्धि भएको जनाइएको छ। चीनमा रियल स्टेटको कारोबार निकै तीब्र गतिमा बढिरहेको छ । यसकारण त्यहाँका अर्बपतिको कमाइ पनि निकै तीब्र गतिमा बढिरहेको छ । – एजेन्सी