दोलखाली जनताको चाहना भएकालेनै प्रदेशको चुनाव लड्छु :बालकृष्ण शिवाकोटी

अनलाइन दर्पण 2017-09-10
img

सरकारले आगामी मंसिरमा प्रदेश र केन्द्रिय प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेसँगै राजनितिक दलहरु त्यसको आन्तरिक  तयारीमा जुटेका छन् । दोलखाका राजनितिक दलहरुभित्र संगठन सुदृढिकरणदेखि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बहस सुरु हुन थालेको छ । यसै पृष्ठभुमिमा आगामी प्रदेश सभाको निर्वाचनका लागि आफुलाई तयारी पार्नुभएका नेकपा एमाले उद्योग विभागका सदस्य  र लगानी वोर्डका सदस्य समेत रहेका दोलखका वालकृष्ण शिवाकोटीसँग गरिएको  विशेष कुराकानीको सारांश : 

  • देशको वर्तमान राजनितिक अवस्थालाई कसरी लिनुभएको छ ?

मुलुकमा स्थायीत्वका लागि संविधान कार्यान्वयन गर्ने सवालमा स्थानीय तहको निर्वाचन ६ प्रदेशमा सम्पन्न भएको छ भने २ नम्बर प्रदेशमा असेज २ मा सम्पन्न भए पश्चात  प्रदेश र संघको दुईवटै निर्वाचन सम्पन्न भैसकेपछि संविधानको कार्यान्वयनसँगै नेपाललाई सम्वृद्ध मुलुक कसरी बनाउने ? त्यसका निमित्त कसरी लाग्ने ?  सवै ठूला राजनितिक दलको यही सोँच छ जस्तो मलाई लाग्छ ।

  • आज भोली ब्यवसाय भन्दा राजनीतिक गतिविधिमा बढि सक्रिय देखिनुभएको छ, के अब खुल्ला राजनितिमा सक्रिय हुने सोँच बनाउनु भएको हो ?

मैले राजनीति सँगसँगै व्यवसाय पनि गरिरहेको थिएँ । सवै मानिसले राजनीति सँगसँगै केही न केही नियमित आम्दानीको काम  गर्नुपर्छ । राजनिति मात्रै गरेर मात्र पनि हुन्न भन्ने मेरो बुझाई हो । आफ्ना निमित्त, केही गर्नका निमित्त आफ्नो व्यवसाय हुनुपर्छ, त्यो सँगसँगै राजनिति पनि गर्नुपर्छ भन्ने मेरो मान्यता भएको हुनाले मैले ब्यवसाय र राजनीति सँगै गर्दैछु । म ३७/३८ सालदेखि म विद्यार्थी राजनितिमा लागेको मान्छे  खुलमखुल्ला सँधैभरी पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हिँडेको मानिसले खुल्ला राजनीतिमा आयो आएन भन्ने कुरा समय आएपछि देखिन्छ, नआउँदा नदेखिने कुरा हो ।

  • पहिले भन्दा त आज भोली यहाँको राजनितिमा सक्रियता  बढेकै हैन र ?

त्यो त जिम्मेवारी के पाईन्छ, जिम्मेवारीले देखिने चिज हो । पार्टीले के जिम्मेवारी दिन्ट । के गर्नुपर्छ त्यसका आधारमा देखिने कुरा हो । कहिलेकाँही पार्टी राजनिति भनेको कुरा नदेखिएर पनि धेरै काम गरिएको हुन्छ, कहिलेकाँही देखिएर पनि कम काम गरिएको हुन्छ । त्यो हेर्ने दृष्टिकोणमा भर पर्छ ।

  •  तपाई आम सर्बसाधरणको सामु आफुलाई के भनेर  चिनाउन चाहनुहुन्छ, विजनेसम्यान कि राजनितिक लिडर ?

म राजनिति र व्यवसायपनि  सँगसँग गरेको मान्छे,  म अरुलाई पनि त्यहि गर्नुपर्छ भनेर प्रेरणा दिन चाहन्छु । आ–आफ्नो हेर्ने दृष्ट्रिकोण हो । राजनितिमा लागका मानिसले, राजनितिक कार्यकर्ताका रुपमा चिनेका हुन्छन्  भने विजनेसमा लागेका मानिसले विजनेसम्यान भनेर चिनिएका हुन्छन् । त्यसैले ठ्याक्कै यहि कुरा हो भन्ने हुन्न मानिसको, सबै कुरा समय अनुसार उसको जिम्मेवारी र कामको आधारमा पुष्टी हुने हो । दोलखाको सम्वृद्धिका निमित्त अलिकति मेरो व्यवसाय भन्दा पनि राजनितिमा लाग्यो भने केही गर्न सकिन्छ की भन्ने हिसावले  मात्रै हो, अरु कुरा केही होईन । 

  • अब हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर राजनितिक सक्रियता बढाउनु भएको देखिन्छ, निर्वाचनमा तँपाईको भुमिका कस्तो रहन्छ ?

मैले व्यवसाय सँगसँगै राजनितिक र सामाजिक कामलाई पनि सँगै लिएर गएको छु । चुनाव आएपछि यो मुद्धा अगाडी बढेको हो कि भन्ने देखिएको मात्रै हो । यस बारेमा आम दोलखाबासीलाई थाहा भएकै विषय हो । सेवा गर्नका निमित्त आफ्ना सामाजिक दायित्वहरु पुरा गर्न सक्ने हुनुप¥यो । त्यसका निमित्त व्यवसाय या अन्य किसिमका काम गर्नुपर्ने हुन्छ । ती काम गरिएको मात्रै हो । त्यसैले राजनिति, मानिसलेले बुझेदेखिनै गर्न खोजेको हुन्छ । त्यही चिज गरेको मात्र हो । अब कहिलेकाँही पार्टीले जिम्मेवारी दिएपछि जे जिम्मेवारी पनि बोक्नुपर्ने हुन्छ । म एकजना पार्टीको जिम्मेवार कार्यकर्ता हुनाले नेकपा एमालेलाई प्रदेश र संघको निर्वाचनमा पनि विजयी बनाउने भुमिका हुन्छ । एउटा जिम्मेवार कार्यकर्ताको हिसावले पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी निष्ठापुर्बक पालना गर्ने मेरो आफ्नो प्रतिबद्धता छ ।

  • पार्टीलाई जिताउने त, सवै नेता कार्यकर्ताको स्वभाविक चाहना हो, तर तपाईको व्यक्तिगत कुरा चाँही के हो ? आफुलाई चुनावी मैदानमा उतार्ने चाहना पनि त होला नी ?

राजनीतिमा सक्रियतापूर्वक लाग्ने जो कोही पनि आफूलाई चुनावी मैदानमा उतार्न  चाहन्छ । मलाई पनि  पार्टीले त्यो  जिम्मेवारी दियो भने पक्का हो, त्यसमा कुनै शंका छैन । दोलखाली जनताले अब तपाई एकपटक प्रत्यक्ष राजनितिमा आउनुपर्छ, अझ त्यसमा पनि धेरै पनि युबा साथीहरुले भनेको हुनाले मेरा व्यक्तिगत चाहना पनि छ । किनभने साथीभाईले पनि यो गर्नुपर्छ भनेको हुनाले त्यसका लागि मेरो व्यक्तिगत प्रयास छ । 

  • प्रादेशिक निर्वाचनमा आफुलाई उम्मेदवारका रुपमा प्रतिस्पर्धामा उत्रने घोषणा हो तँपाईको ?

हो एकदम हो । यतिबेला भन्दाखेरी नितान्त निर्वाचनका लागि गरिएको विषयबस्तु जस्तो लाग्छ । म विनम्रतापुर्बक दोलखाली जनतालाई के भन्छु भने हिजो जसरी नेकपा एमालेलाई विजय गराउनका लागि भुमिका खेल्नुभएको छ, त्यही किसिमको भुमिका तँपाईहरुले पक्का खेल्नुहुनेछ र त्यसका निमित्त म आम जनतालाई आग्रह गर्दछु र पार्टीले जिम्मेवारी दियो भने प्रदेश चुनावमा मेरो पनि चाहना भएको हुनाले सँगसँगै त्यसमा पनि सहयोग गर्नुहुने छ । आजसम्म मलाई दोलखाली आमाबुवा, दाजुभाई, दिदिबहिनीले माया गर्नुभएको छ । त्यहि किसिमको माया ममता पाउँछु भन्ने लागेको छ । यत्ति कुरा अहिले भन्न चाहन्छु । बाँकी कुरा निर्वाचनको बेला भेटमा प्रत्यक्ष के के गर्नुपर्छ त्यँही गरौँला ।

  • पार्टी्भित्र अन्य धेरै आकांक्षी नेताहरु होलान, अन्य उम्मेदवारको तुलनामा तपाईमा के फरक छ  ? 

नेकपा एमाले मुलुकमै सबैभन्दा ठुलो पार्टी हो । यसमा धेरै नेता कार्यकर्ता छन् । एमालेमाबाट उम्मेदवार बन्नकालागि प्रतिस्पर्धा हुन्छ । यो एकदमै सान्दर्भिक कुरा हो । तर एउटा कुरा के छ भने त्यहाँ व्यवस्थापन राम्रो हुन्छ । त्यहाँ राम्रो मुल्याङ्कन हुने भएको हुनाले कसैलाई नजिक र टाढा राखिँदैन । त्यो सहज ढंगले हुन्छ पहिलो कुरो । दोस्रो कुरो निर्वा्चित भएर आएपछि र  निर्वा्चित नहुँदापनि दोलखा सम्वृद्ध बनाउनका लागि दुई तीन वटा कुरा छ, हामीले स्थानीय निर्वाचनको बेला पनि केही कुरा भनेका थियौँ । सबैभन्दा ठुलो कुरो तामाकोसि तेस्रो निर्माण गर्न सकियो भने, पर्यटकिय हिसाबले दोलखा अत्यन्तै सुन्दर छ । त्यसले एक चिज थप गर्छ । त्यति मात्रै बनाउन सकियो भने दोलखाली आम जनताको आयस्तर बृद्धि हुनेछ । म नेपाल सरकारको लगानी वोर्डमा गएपछि पहिलो प्राथमिकतामा हुनुपर्छ भनेर पहल गरिरहेको छु । मलाई लाग्छ यो छिट्टै कार्यान्वयनको चरणमा जानेछ । अर्को कुरो चाईनासँग जोडिने फलाकको वाटो छ, यो छिटो जोडिनुपर्छ । त्यसले गर्दा तेस्रो मुलुकसँग हुने व्यापार असाध्यै धेरै हुने भएको हुनाले यी दुईवटा महत्वपुर्ण छन् । त्यसको साथमा कृषिमा प्राथमिकताका आधारमा केही गर्नुपर्छ भनेर सबैले भन्दै आएको कुरा हो । त्यो भन्दापनि पर्यटकिय क्षेत्र कसरी बनाउन सकिन्छ । त्यसका बारेमा सोच्नुपर्नेछ । यदि त्यो बातावरण बनाउन सकियो भने, अब कुरा गरेर हुँदैन । पर्यटक आएनन्, पर्यटकिय स्थल बनाउने भन्छौँ, हामीले त्यही किसिमका पुर्बाधारहरु, पर्यटक आएर बस्ने खाने, घुम्ने आदि यी चिजहरुको व्यवस्थापन र विस्तार गर्न सकेनौँ भने कुरा गरेर हुँदैन, त्यसका लागि के गर्न सकिन्छ, त्यही नै पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ, त्यसका निमित्त के गर्नुपर्छ, हामी सोचिराखेका छौँ । हाम्रा एजेण्डा, हाम्रा चुनावी प्रतिवद्धतामा पनि ती कुरा आउँछन् । त्यसैले सबै कुराको निर्धारण गर्छ ।

 

सम्बन्धित समाचार

Advertisement