भक्तपुर। भक्तपुरको लोकन्थलीस्थित हिमालयन किड्समा बालबालिकालाई नेपाली संस्कृति, परम्परा, संस्कार तथा मौलिक पहिचानसँग परिचित गराउने उद्देश्यले कुमारी जात्रालगायत विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयले आयोजना गर्ने संस्कृति तथा परम्परासम्बन्धी कार्यक्रमलाई केवल मनोरञ्जन वा उत्सवका रूपमा नभई बालबालिकाको सिकाइ प्रक्रियाको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ। कार्यक्रममा बालबालिकालाई नेपाली संस्कृति प्रत्यक्ष रूपमा अवलोकन गर्ने, परम्परागत गतिविधिमा सहभागी हुने तथा मौलिक संस्कार र परम्पराको अनुभव गर्ने अवसर प्रदान गरिएको थियो।
विद्यालयका अनुसार सानै उमेरमा बालबालिकाले हेरेर, सुनेर र आफैँ सहभागी भएर सिकेका कुराहरू उनीहरूको स्मृति र व्यवहारमा लामो समयसम्म रहन्छन्। त्यसैले किताबमा संस्कृति र परम्पराबारे पढाउनुका साथै व्यवहारिक तथा अनुभवमा आधारित सिकाइलाई विद्यालयले प्राथमिकता दिएको हो।
कुमारी जात्रालगायतका सांस्कृतिक गतिविधिमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ। परम्परागत पोशाक, बाजागाजा, जात्रा तथा सांस्कृतिक गतिविधिमार्फत बालबालिकालाई आफ्नो माटो, मौलिकता र नेपाली पहिचानसँग नजिक बनाउने प्रयास गरिएको थियो।
विद्यालयकि प्रधानाध्यापक ममता शाहका अनुसार शिक्षा केवल अक्षर चिनाउने र पाठ्यपुस्तकमा सीमित विषय नभई संस्कार, संस्कृति, सभ्यता र आफ्नो पहिचानप्रतिको सम्मान विकास गर्ने प्रक्रिया पनि हो। बाल्यकालमै संस्कृति र परम्परासँग जोडिएका अनुभव हासिल गरेका बालबालिकाले भविष्यमा आफ्नो देश, समाज र संस्कृतिप्रति जिम्मेवार तथा सचेत नागरिक बन्न प्रेरणा पाउने उनको विश्वास छ।
“हाम्रा नानीबाबुको हातमा किताबसँगै संस्कृति होस्, आँखामा सपनासँगै आफ्नो पहिचान होस् र आधुनिक शिक्षासँगै आफ्नो माटोप्रतिको माया पनि होस्,” भन्ने उद्देश्यसहित विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको प्रधानाध्यापक शाहले बताइन ।
विद्यालयले आगामी दिनमा पनि बालमैत्री, सभ्य र अर्थपूर्ण ढङ्गबाट नेपाली संस्कृति तथा परम्परासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।
संस्कृति हाम्रो जरा हो, पहिचान हाम्रो गौरव हो र बालबालिका हाम्रो भविष्य हुन् भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।