गर्मीमा कस्तो खानेकुरा खाँदा राम्रो ?

अनलाइन दर्पण 2021-04-24
img

गर्मी लाग्न थाल्यो । यसले स्वास्थ्यमा विभिन्न तरिकाले असर पार्छ । आयुर्वेदमा गर्मीलाई ग्रीष्म ऋतु भनिन्छ । आयुर्वेदले गर्मी महिनामा खान हुने वस्तुका विषयमा बताएको छ ।

गर्मीमा पाचन प्रक्रिया सुस्त हुन्छ । शरीरलाई बढी तात्न नदिनका लागि जठराग्नि मन्द हुन्छ । यस्तो अवस्थामा भोक कम लाग्छ र हलुका खानेकुरा खान मन लाग्छ ।

गर्मीमा अमिलो, नुनिलो र तीखो खानेकुरा खान हुँदैन । यसले पित्तदोष अर्थात् शरीरमा ताप बढाउँछ । प्राकृतिक रूपमा गुलियो भएका फल र नटुक्य्राइएका अनाज खानुपर्छ ।

आँपले वात, पित्त र कफ तीनैलाई सन्तुलनमा राख्छ । पाकेको आँपले ऊर्जा बढाउँछ भने काँचो आँपमा अमिलो तथा शीतल बनाउने तत्त्व हुन्छन् ।

स्याउको स्वाद गुलियो हुन्छ र यसले पनि शरीरलाई ठण्डा राख्न मद्दत गर्छ । शारीरिक प्रणालीलाई चिसो बनाउन यो उपयोगी छ ।

नास्पातीले पित्त दोष र अम्लपन घटाउँछ किनकि यो शीत प्रकृतिको हुन्छ ।

तरबुजामा पानीको मात्रा भरपूर हुन्छ र यसले शरीरलाई चिसो बनाउँछ अनि शरीरबाट विषाक्त तत्त्व बाहिर निकाल्छ ।

आरुले शरीरको अग्निमा सुधार ल्याई भोक बढाउँछ र पाचन पनि दह्रो बनाउँछ ।

अमलाको रस भिटामिन सीको राम्रो स्रोत हो र यसले पित्तलाई सन्तुलनमा राख्छ । यो एन्टीअक्सिडेन्ट पनि हो र गर्मीमा यो महत्त्वपूर्ण पेय पदार्थ हो ।

कागतीको रसले शरीरमा पानीको मात्रा कायम राख्न मद्दत गर्छ ।

नीमको रस तीतो हुन्छ र यसले गर्मीमा छालाको संक्रमण घटाउन मद्दत गर्छ ।

बुर्काउली, फर्सी, हरियो सागपात, लौका पनि गर्मीमा स्वस्थ राख्न मद्दत गर्ने खानेकुरा हुन् ।

सम्बन्धित समाचार

Advertisement