निर्वाचनलाई भाँड्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई रिहा गरेको छ ।
प्रतिनिधि र प्रदेससभा निर्वाचनलाई असुरक्षित बनाउन सक्ने भन्दै प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३१ जना कार्यकर्ताहरुलाई करिब एक महिना हिरासतमा राखेको थियो ।
निर्वाचन सम्पन्न भएपछि उनीहरुलाई सामान्य धरौटीमा छोडिएको दाङका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले उनिहरुलाई सामान्य धरौटीमा छोडेको जनाएको छ । चुनावको संवेदनशिल समयमा शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका ३१ जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाएको थियो ।