हार स्वीकार गर्दै रविन्द्र मिश्रकाे विज्ञप्ति

अनलाइन दर्पण 2017-12-11
img

काठमाडौं २३, मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदार बनेका विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ८१९ मतान्तरले पराजित गरेपछि मिश्रले अाफुलार्इ जनताले दिएकाे मतलार्इ विज्ञप्ति मार्फत कद्दर गरेकाे छ ।

यस्ताे छ विज्ञप्ति

काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति
(प्रकाशन र प्रसारणका लागि सक्दो श्यर गरिदिन हार्दिक आग्रह गर्दछु)

विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।

विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।

“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।

समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।

यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!

रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी

सम्बन्धित समाचार

Advertisement