१७ मंसिर, काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ ट्वीस्ट आएको छ ।
गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समीरमानलाई शनिबार चितवनबाट पक्राउ गरेको छ ।
सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड समीरमानको भएको दाबी छ ।
तर, घैंटेे ३ भदौ ०७२ मा प्रहरी कारबाहीमा मारिए ।
प्रहरीका अनुसार घैंटेको मृत्युपछि समीरमानले शरद गौचनसँग साढे २ करोड दाबी गरे । र, रकम फिर्ता गर्न वा शेयर दिन पटक-पटक आग्रह गरे । गौचनले यो नमानेपछि उनीहरुबीच विवाद भयो ।
प्रहरीका अनुसार समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । तर, गौचनले नदिएकाले समीरमानकै योजनामा उनको हत्या भएको खुलेको छ ।
नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । अनलाइनखबर बाट