तीन मतपत्र-चार छाप, यस्तो छ मतदान प्रक्रिया

अनलाइन दर्पण 2017-11-14
img

काठमाडौं।  निर्वाचन आयोगले अागामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र तयार पारेकाे छ ।

तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पुर्‍याउनुपर्नेछ ।

प्रतिनिधिसभा निर्वाचनको लागि सेतो मतपत्रमा हरियो चुनाव चिह्न हुनेछ भने प्रदेशसभा निर्वाचनको लागि सेतो मतपत्रमा कालो चुनाव चिह्न हुनेछ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भने हल्का रातो रङको मतपत्र प्रयोग हुनेछ।

तीन मतपत्र चार छाप 

हरियो रङको मतपत्र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि हो । त्यसमा उल्लिखित निर्वाचन चिह्नमध्ये कुनै एकमा स्वस्तिक छाप लगाउनुपर्छ । यस्तै, प्रदेशसभा निर्वाचनका लागि कालो चुनाव चिह्न भएकाे मतपत्र हुनेछ । त्यसमा पनि कुनै एक चिह्नमा स्वस्तिक छाप लगाउनुपर्छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुई वटा मतपत्रमा छाप लगाएपछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार चयन गर्न मतदान गर्नुपर्छ । त्यसका लागि आयोगले हल्का रातो रङकाे मतपत्रको व्यवस्था गरेको छ । याे मतपत्र भने दुई खण्डमा विभाजित हुन्छ । पहिलो खण्ड प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उम्मेदवार चयन गर्न हो भने दोस्रो खण्ड प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार चयन गर्नका लागी हो।

मतदान प्रक्रिया

मतदान केन्द्रमा मतदाताकाे प्रवेशसँगै मतदाताले पहिलो डेस्कमा मतदाता नामावलीमा अाफ्नाे नाम रुजु गराइ मतदाताको नङमा मसी लगाउने काम त्यहीं हुनेछ । मतादाताले त्यही डेक्सबाट प्रत्यक्षतर्फ प्रदेशसभाको मतपत्र पाउनेछन् । पहिलो घेरा (गोप्य कक्ष) प्रवेश गरी स्वस्तिक चिह्न लगाएर नजिकैको प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र पाउनेछन् । त्यहाँ पनि फरक गोप्य कक्ष र फरक मतपेटिका प्रयोग हुनेछन् ।

तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र पाउनेछन् । समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिह्न हुनेछन् । मतदाताले त्यहाँ दुवै सभाका लागि अलग–अलग स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ । समानुपातिकका लागि पनि प्रदेश र प्रतिनिधिसभाका लागि अलग्गै गोप्य कक्ष र अलग्गै मतपेटिका हुनेछन् ।

तीन थरी मतपत्र तीन रंगका छन् । प्रत्यक्षतर्फ सेतो पानामा कालो रंगले चिह्न छापिएको प्रदेशसभाको, हरियो रंगले चिह्न छापिएको प्रतिनिधि सभाको र रातो रंगले चिह्न छापिएको समानुपातिकतर्फका मतपत्र हुनेछन् ।

 

 

सम्बन्धित समाचार