रमिला बस्नेत, उदयपुर, २१ भदौ । नेत्रविक्रम चन्द (बिप्लव) ले नेतृत्व गरेकाे नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुबेदी सहित जिल्ला सदस्य तथा कार्यालय सचिव सुरेन्द्र थापा र पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उदयपुर अध्यक्ष तथा केन्द्रीय सदस्य दुर्गा तामाङ रहेका छन्।
सीमाना जोडिएका दुई जिल्ला सिरहा र सप्तरीमा चुनाव हुन लागेकाले त्यहाँको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुगोस् भनेर नेकपाका कार्यकर्तालाई सम्पर्क कार्यालयबाटै नियन्त्रणमा लिइएको उदयपुर प्रहरीले जनाएको छ ।
सीमाना जोडिएका जिल्लाको चुनावलाई ध्यानमा राखेर माथिको आदेश अनुसार उनीहरुलाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिएर राखिएको प्रहरी भनाई छ ।
नेकपाका जिल्ला इन्चार्ज केदार राईले पार्टीका नेता कार्यकर्तालाई विना कारण प्रहरीले पक्राउ गरेर लगेको बताए । राईका अनुसार मंगलबार साँझ लाहान नगरपालिकाको मेयरका एमाले उम्मेद्वार मुन्नि साहको घरमा बम विस्फोट भएको घट्नालाई लिएर आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको हुनसक्ने उनले बताए ।
असोज २ गते हुन गईरहेको आसन्न तेस्रो चरणको २ नम्बर प्रदेशको चुनाव हुन लागेको सप्तरी र सिराहाको विषयलाई लिएर उदयपुरमा पक्राउ गर्नु दुखद भएको राईले बताए ।