काठमाडौं, १२ भदौ । वलात्कार अभियोगमा दोषी ठहरिएका बाबा रामरहिमलाई भारतको सीबीआई अदालतले १० वर्षको जेल सजायँ सुनाएको छ । हरियाणाको रोहतक जेलमा स्थापना गरिएको सीबीआईको विशेष अदालतमा न्यायाधीसले बाबा रामरहिमलाई १० वर्षको जेल सजाय फैसला सुनाएकाे हाे । डेरा सच्चा सौदा नामक धार्मिक संस्थाका मुखिया रामरहिममाथि १५ वर्ष अघि आफ्नै साध्वीलाई वलात्कार गरेको अभियोग लागेको थियो ।
गत शुक्रबार पञ्चकुलास्थित सीबीआई अदालतले दोषी ढहर गरेपछि रामरहिमका समर्थकहरु हिंसामा उत्रिएका थिए । ३८ जनाको मृत्यु सयौं घाइते र अर्बौको भौतिक क्षति हुने गरी भएको हिंसापछि पञ्जाव हरियाणा उच्च अदालतले रोहतक जेलमै सीबीआई कोर्ट खडा गरी सजायँ सुनाउन आदेश दिएको थियो ।
पञ्जाव हरियाणा उच्च अदालतले डेरा सच्चा सौदाको सबै सम्पति जफत गरी हिंसामा भएको क्षतिको भर्पाईं गर्न समेत आदेश दिएको थियो ।
रामरहिमका समर्थकले आज पनि डेरा सच्चा सौदाको मुख्यालय रहेको सिरसामा दुई गाडीमा आगजनी गरेका छन् ।