काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा पुनर्निर्माणका लागि करिब ७ खर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले बाढीबाट भएको क्षतिको विस्तृत विवरणसहितको प्रतिवेदन तिहारअघि सार्वजनिक गर्ने तयारी गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको विस्तृत मूल्याङ्कन सम्पन्न गरी प्रतिवेदनलाई अन्तिम रूप दिइरहेका छन्। विवरण सङ्कलनका लागि २५० भन्दा बढी कर्मचारी एक महिनाभन्दा लामो समय प्रभावित क्षेत्रमा खटिएका थिए।
उनीहरूले प्रभावित क्षेत्रलाई २४ वटा क्षेत्रमा विभाजन गरी सडक, पुल, भवन, खानेपानी, जलविद्युत्, कृषि, विद्यालयलगायतका भौतिक संरचनामा भएको क्षतिको अध्ययन गरेका थिए।
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाका अनुसार बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि करिब ७ खर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। विस्तृत प्रतिवेदन तिहारअघि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीबाट सरकारी तथा निजी क्षेत्रको गरी ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको छ। यसमध्ये करिब ३ खर्ब रुपैयाँ बराबरको क्षति निजी क्षेत्रमा भएको अनुमान छ।
बाढीले आर्थिक गतिविधि र नागरिकको जीविकोपार्जनमा समेत ठूलो असर पारेको छ। प्रारम्भिक विवरणअनुसार आर्थिक गतिविधि तथा जीविकोपार्जनतर्फ मात्रै १ खर्ब ४६ अर्ब १९ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
यसअघि प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। विस्तृत अध्ययनबाट पनि पुनर्निर्माण खर्च सोही हाराहारीमा पुग्ने देखिएको आयोगका सदस्य थापाले बताएका छन्।
सरकारले प्रभावित क्षेत्रका स्थानीय तहसँग समन्वय गरी सङ्कलन गरेको विवरणका आधारमा विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) प्रतिवेदन तयार गरिरहेको छ। प्रतिवेदनमा बाढीबाट भएको मानवीय, आर्थिक, सामाजिक तथा भौतिक क्षतिको विस्तृत विवरणसँगै पुनर्निर्माण र पुनर्स्थापनाको योजना समेटिनेछ।