श्रीकृष्ण बुढाथोकी / दोलखा, भदाै १५ । दोलखामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिगु गाउपालिकाकी एक जना युवतीमा साथै गौरीशंकर गाउपालिकाको दुई जना पुरुष र एकजना महिलालाई सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म गौरीशंकरमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ ।
गौरीशंकर गाउपालिकाबाट पछिल्लो पटक १०३ जनाको स्वाब पठाइएकोमा ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । आजै बिगु गाउपालिका ४ सिङगटीकी एक युवतीमा पनि सङ्क्रमण पुष्टि भएको थियो ।
गौरीशंकर गाउँपालिका, कालिञ्चोक गाउँपालिकाबाट र भिमेश्वर नगरपालिकाबाट स्वाब सङ्कलन गरी जिल्लाबाट जम्मा २ सय जनाको स्वाब परीक्षणका लागि धुलिखेल पठाईएकोमा सोमबार ४ जनाको पोजेटिभ र अन्य सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।