भक्तपुर १२, भदाै , २०७७। काेराेना सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।
उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिए । आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उनले जानकारी दिए । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए ।
भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुर स्थानीय दुईजनाको मृत्यु भएको थियो । गत शनिबार सूर्यविनायक निवासी ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौँको मेडिकेयर अस्पतालमा मृत्यु भएको थियोे भने सूर्यविनायक नपा १ सिरुटार निवासी ६८ वर्षीया एक महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।
आइतबार पनि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरमा स्थानीयको तीनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
अहिलेसम्म भक्तपृुरमा ३७५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ भने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ ।