श्रीकृष्ण बुढाथोकी/ दोलखा ।
कालिञ्चोक गाउँपालिकाका एक युवक कोरोना जितेर घर फर्किएका छन् । भारतबाट केही समय अगाडि घर आएर होम क्वारेन्टाइनमा बसेका कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का युवक कोरोना संक्रमणबाट निको भएर हिजो मंगलबार घर फर्किएका हुन् ।
उनलाई साउन २९ गते कोरोना पोजिटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारपछि पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
दुई साता अस्पतालमा उपचार गराएर कोरोनालाई पराजित गरि उनी घर फर्किएका हुन्।
यस अघि दोलखाका ६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो समय दोलखामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपनि निको भएर घर फर्कनेक्रम पनि बढ्दो छ।