श्रीकृष्ण बुढाथोकी / भक्तपुर,५ माघ। अमर कला केन्द्र कालिमाटीद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करण गत शुक्रवार काठमाडौ स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएकाे छ। प्रतिनिधि सभा सांसद रामकुमारी झँक्रीकाे प्रमुख आतिथ्यतामा अन्तिम पच्चीस प्रतिस्पर्धीकाेबिच प्रतिस्पर्धा सम्पन्न भएकाे थियाे।
गत असारदेखि अडिसन सुरु गरि उपत्यका भरिबाट चार सय जनाले अडिसन दिएकाेमा प्रतिस्पर्धीहरुले पाँच चरण पार गरी अन्तिम प्रतिस्पर्धामा पच्चिस जना सहभागी भएकामा पाँच जना पुरस्कृत भएका थिए।
दुवाकोटस्थित प्रज्ञा इङ्लिस् स्कूलकी विद्यार्थी प्रसन्ना पराजुलीले थर्ड रनर अप हुँदै शिल्ड,मेडल र प्रमाणपत्रका साथै पाँच हजार रुपैयाँको चेक समेत प्राप्त गरिन् ।
त्यसैगरी लर्डबुद्ध इङलिस स्कुल थिमीकी सन्जु तामाङ सेकेन्ड रनर अप हुन सफल भइन्। उनले सेकेन्ड रनर अप हुँदै शिल्ड,मेडल र प्रमाणपत्रका साथै पन्ध्र हजार रुपैयाँको चेक प्राप्त गरिन् ।
उक्त प्रतियोगितामा फस्ट रनर अप मध्यपुर थिमी दुई पाेखरी भक्तपुरस्थित नवरत्न अङ्ग्रेजी माध्यमिक बिद्यालयकी सगुन श्रेष्ठ भइन्। नृत्यका अलवा विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत जितिसकेकी सगुनले यस प्रतियोगितामा शिल्ड,मेडल,प्रमाणपत्रका साथै पच्चिस हजार रुपैयाँको चेक प्राप्त गरिन् । स्मरण रहाेस् उक्त प्रतियोगितामा भरत नाट्यम् को बेसिक लेभलमा नृत्य गर्ने उनी मात्र एक प्रतिस्पर्धी हुन्।
कलाकारद्वय महेश गोदार र प्रशान्त तामाङ्ग निर्णायक रहेको उक्त प्रतियोगितामा फाेर्थ रनर अप काठमाडौंकी रश्मी विष्ट बनेकी थिइन् भने प्रतियाेगिताकाे टाइटल बिजेताको उपाधि काठमाडौंकी दीपिका मगरलाई दिइएको थियो। दीपिकाले शिल्ड,मेडल र प्रमाणपत्रका साथै पचास हजार रुपैयाँको चेक प्राप्त गरेकी छिन् ।
नृत्य प्रतियोगिता मार्फत प्रतिभाहरुकाे खाेजि गर्दै आईरहेकाे लेट्स् डान्स काे पाँचौ संस्करणकाे अडिसन छिट्टै सन्चालन गरिने लेट्स् डान्सका डाइरेक्टर राज श्रेष्ठले बताए।