जिरी स्ट्रिट फुड फेस्टिभलको उद्घाटन पर्यटन मन्त्रि भट्टराईले गर्ने

अनलाइन दर्पण 2019-10-17
img

दोलखा । जिरीमा युवा सन्जालको आयोजनामा यहि कार्तिक १, २ र ३ गते दोलखाको पर्यटकीय नगरी जिरीमा हुन गइरहेको “जिरी स्ट्रिट फुड फेस्टिभल २०७६” को उद्घाटन संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराईले  गर्ने भएका छन् । जिरीमा हुन गइरहेको उक्त महोत्सवमा सरिक हुन मन्त्रि भट्टराई यहि ३० गते सडक मार्ग भएर जिरी पुग्ने कार्यक्रम रहेको युवा सन्जाल जिरीका सचिव गौतम जिरेलले जानकारी  दिएका छन् ।

नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी सगरमाथाको प्रवेशद्वार तथा प्रमुख पर्यटकीय गन्तव्य भएकाले पनि मन्त्रि भट्टराईले सो महोत्सवलाई बिशेष महत्व दिंदै सरिक हुन लागेका हुन् । जिरीको पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचानको प्रचार प्रसारका लागि आयोजना गर्न लागिएको महोत्सवको तयारी भव्य तथा अन्तिम चरणमा पुगेको युवा सन्जाल जिरीका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिएका छन् ।

महोत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शनी, नेवार, शेर्पा र जिरेल लगायत कल्चर शो हुनेछ, ब्याण्ड सहितको कन्सर्ट, डिजे सेसन, स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति,खुल्ला नृत्य प्रतियोगिता पनि उक्त फेस्टिभलका मुख्य आकर्षण रहनेछन् ।  

महोत्सवमा राखिने २० वटा स्टलहरु मध्ये १० वटा स्टल बुकिङ्ग भइसकेको अध्यक्ष खड्काले बताएका छन् । अध्यक्ष खड्काका अनुसार स्टलमा खानेकुरा लगायतका विभिन्न परिकार तथा सबै जातजातिका खाद्य परिकारहरु रहनेछन् ।

साथै, महोत्सवमा रमाइलो मेलाका लागि अर्को मुख्य आकर्षणको रूपमा रोटे पिङ्ग, कोलम्बस र क्रेनको व्यवस्था रहनेछ । महोत्सव सम्पन्न गर्नका लागि करिब १० देखि ११ लाख लागत लाग्ने आयोजकको अनुमान छ । 

महोत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि जिरी नगरपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न संघसंस्था, परियोजना लगायतका निकाय र विदेशमा रहेका जिरीवासीको सहयोग रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement