काठमाडौंमा १८ वर्षपछि फेरी गुड्न थाले विद्युतीय बस, अन्य बसमा भन्दा २० प्रतिशत कम भाडा

अनलाइन दर्पण 2019-09-10
img

काठमाडौं । ट्रली बस बन्द भएको १८ वर्षपछि मुलुकको सार्वजनिक यातायातमा विद्युतीय बसको पुनरागमन भएको छ । निजीक्षेत्रको सुन्दर यातायातले सोमवार काठमाडौंको सडकमा चार विद्युतीय बस उतारेको छ । 

विद्युतीय बस सेवा उद्घाटन गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने नेपालमा पहिलोचोटि विद्युतीय बस चलेको यही हो भन्दै सुन्दर यातायातको उत्साह बढाउने प्रयास गरे । ‘पहिलोपटक नेपालमा विद्युतीय बस चल्न लागे पनि यसले सुदूर लक्ष्य राखेको छ,’ मन्त्री पोखरेलले भने, ‘आगामी दिन अझै चुनौतीपूर्ण भएकाले हाम्रो तर्फबाट साथ सहयोग रहनेछ ।’

सुन्दर यातातातले ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको  चारवटा बस सञ्चालनमा ल्याएकाे छ ।  बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ । फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ । काठमाडौंमा वायू प्रदुषण र ध्वनी प्रदुषणले निम्त्याएको समस्यालाई न्युनीकरण गर्न  विद्युतीय बसबाट सहयाेग मिल्नेछ । 

अन्य बसमा भन्दा २० प्रतिशत कम भाडा

हालसम्म सरकारले विद्युतीय बसको भाडा निर्धारण गरेको छैन । भाडा निर्धारण नभएसम्म अन्य बसमा भन्दा २० प्रतिशत कम भाडा लिएर चलाउने सुन्दर यातायातले बताएको छ । कम्पनीले नगदरहित भुक्तानीका लागि ‘काठमाडौं सुन्दर कार्ड’ प्रयोगमा ल्याउने भएको छ जो २१५ रुपैयाँमा किन्न सकिनेछ । बाँकी तीन बसको रूट पर्मिट पाएपछि अन्य रूटमा पनि बस चलाउने बताइएको छ । 

विद्युतीय बस एकपटक ६ घण्टा चार्ज गरेपछि २६५ किलोमिटर गुड्छन् । यसका लागि कम्पनीले बीएकेको आर्थिक सहयोगमा सुकेधारा, सीतापाइला र चाबहिलमा चार्जिङ स्टेशन बनाएको छ । 

यस्तो छ रुट

सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा काठमाण्डौका ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।

साथै तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।

विद्युतीय बसको संख्या बढाउँदै लगेपछि सोही अनुसार रुट कायम गरिने सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।

सम्बन्धित समाचार