भारतबाट भित्रिएको सेतो आलुमा ज्यानै लिनसक्ने विषादी भेटियो, पोखरामा ५२ बोरा नष्ट

अनलाइन दर्पण 2019-08-13
img

पोखरामा बिक्री वितरणका लागि भारतबाट आयात गरिएको आलुमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मात्राको विषादी भेटिएको छ । पोखराको पृथ्वीचोकस्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको सेतो आलुमा ४७ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको छ ।

भारतबाट आयात गरिएको सेतो आलु विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशला इकाइमा जाँच गर्ने क्रममा अत्याधिक विषादी भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले बताए । ‘विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खान योग्य हुन्छ । ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएको अवस्थामा एक साता अब्जरभेसन गरेर मात्र खान सकिन्छ,’ उनले भने, ‘तर, यस आलुमा ४७ प्रतिशत भेटिएको र यस्ता वस्तुलाई नष्ट गर्नुपर्छ ।’

सचेत गराउन आलु नष्ट गरिएको उनको भनाइ छ । अधिकृत बाँस्तोलाका अनुसार पोखरा आएको तरकारी तथा फलफूलको कार्बामेट र अर्गानो फस्फेट जाँच गरिन्छ । नष्ट गरिएको आलुमा कुन विषादी प्रयोग गरिएको हो भनी पोखराबाट पत्ता लगाउन नसकिने उनले बताए ।

 

सम्बन्धित समाचार

Advertisement