गलत समाचार लेख्नेलाई कारबाही– थापामगर

अनलाइन दर्पण 2018-10-03
img

भक्तपुर । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीलिप थापामगरले सत्य तथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको नागरिकको आँखामा मिडिया विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै थापा मगरले सत्यतथ्यमा आधिरित भएर समाचार सम्प्रेषण गर्न संचारकर्मी र मिडिया हाउँसलाई आग्रह गर्नुभयो ।

कसैको प्रभावमा परेर गलत समाचार लेख्ने पत्रकारलाई अब छुट नहुने बताउँदै थापा मगरले त्यस्ता पत्रकारलाई अव महासंघको विधान अनुरुप कारवाही हुने बताउँनु भयो । 

सत्यतथ्य समाचार लेख्न खुट्टा नकमाउँन आग्रह गर्दै थापा मगरले मिडियालाई संकुचित गर्न संचार विरोधी कानून ल्याएको आरोप लगाउँनु भयो । महासंघ जहिले पनि संचारकर्मीको पक्षमा रहने उल्लेखगर्दै कार्यबाहक अध्यक्ष थापा मगरले  पत्रकारले पनि आफ्नो आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले अध्ययन र विश्लेषण गरेर मात्र समाचार बनाउँन आग्रहगर्दै हचुवाका भरमा समाचार बनाउँदा कतिपयले अनाहकमा दुख पाएको बताउँनु भयो । राजधानीसंगै रहेर पनि अपेक्षित रुपमा पत्रकारिताको विकास हुन नसकेको उल्लेखगर्दै देउजाले राजनीतिक प्रभाव र दवावमा नपरी सत्य तथ्यमा आधारित भई समाचार बनाउँन सुझाव दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले तुलनात्मक रुपमा भक्तपुरको पत्रकारिता स्तरीय रहेको चर्चागर्दै अझै पत्रकारितामा निखार ल्याउन स्वयं पत्रकारहरु नै लाग्नुपर्नेमा जोड दिनुभयो ।  भरपर्दो र विश्वशनीय बनाउँन सके पत्रकारिताको गरिमा अझ बढ्ने भट्टको भनाई थियो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकारले पत्रुकारिता, पर्चाकारिता, पित पत्रकारिता नगरी वास्तविक पत्रकारिता गर्नुपर्नेमा जोड दिदै भ्रम छर्ने, भड्काउँने समाचार नलेख्न आग्रह गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारिता नै नपढेका, नजानेका व्यक्ति पत्रकारितामा हावी हुदै आएको टिप्पणी गर्दै पैसा कमाउँन कै लागि यो पेशा रोज्न नहुने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले पत्रकारले समाचार लेख्ने विषय नै कतिपय अबस्थामा नबुझेको बताउँदै महिला बालवालिका पक्षको समाचारले स्थान नपाउने गरेको गुनासो गर्नुभयो ।

निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईले अनगिनती रुपमा खुलेका मिडियाले यर्थाथ भन्दा पर रहेर समाचार लेख्ने गरेको, संवेदशनिल विषयमा निष्पक्ष हुन नसकेको र पत्रकारितामा दलीय गन्ध आउँने गरेको आरोप लगाउनुभयो । 

नेपाली कांग्रेसका सहसचिव किरण न्यौपानेले निष्पक्ष भएर समाचार सम्प्रेशन नगर्दा धेरैको जीवन बर्वाद भएको उदाहरण प्रस्तुतगर्दै समाचारको असरको आंकलन गरेर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

एन प्यब्सन भक्तपुरका अध्यक्ष जि.वि. खड्काले सम्बन्धित पक्षसंग सम्पर्कै नगरी समाचार लेख्दा यथार्थ समाचार नआउँने गरेको गुनासोगर्दै कतिपय पत्रपत्रिकामा हुबहु समाचार आउँने गरेको बताउनुभयो ।

सर्वोच्च अदालत बार एशोसियसनका उपाध्यक्ष राजु खड्काले समाचारमा सन्तुलन नराख्ने, विज्ञापनलाई समाचार बनाउँने, हुबहु समाचार हाल्ने र समाचारमा चाकडीपन देखिने गरेको आरोप लगाउँनुभयो ।

कार्यक्रममा उपभोक्ता मञ्च भक्तपुरमा अध्यक्ष मनोज थापाले पढ्दै नपढेका पनि पत्रकार बन्ने गरेको गुनासो गर्दै पत्रकारको नाममा जे पनि गर्न पाईन्छ भन्ने मानसिकता त्याग्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्ने अधिकांश नागरिक समाजका व्यक्तिहरुले पत्रकारिता निष्पक्ष हुन नसकेको भन्दै पत्रकार बन्न धेरै सजिलो भएकाले यसको दुरुपयोग भएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र,उपत्यका प्रदेशका अध्यक्ष एन के दाहाल,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,उपाध्यक्ष कविता थापा,सचिब कृष्ण नेपाल लगायतले भक्तपुरको पत्रकारिता अन्यत्र भन्दा निष्पक्ष हुने गरेको बताउँनुभयो । 

सम्बन्धित समाचार

Advertisement