भक्तपुर । दशैंको रौनकतालाई बढाउने काम गर्छ, चंगाले । उडेको चंगा हेर्दा कसको मन चंगा हुन्न र ? अझ चंगाले दिने मज्जा त बयान गरी साध्य छैन ।
यही कुरालाई मनन् गरी त्रिपुरा न्यूज साप्ताहिक, त्रिपुरा खबर अनलाइन र संवाहक डटकमको संयुक्त आयोजनामा भक्तपुरमा जिल्लाव्यापी चंगा उडान प्रतियोगिता हुने भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोटमा उक्त प्रतियोगिता हुने आयोजक साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक विकास थापा ‘प्रहर’ ले बताए ।
‘दशैं भन्ने बित्तिक्कै जुवा तासमात्र नभएर चंगा पनि हो, चंगा उडानको मज्जा बेग्लै हुन्छ, चंगाले दशैं आएको संकेत पनि गर्छ । यो निक्कै महत्वपूर्ण परम्परा हो । यो परम्परालाई जोगाउनका लागि पनि यो उडान राखिएको हो ।’ उनले भने ।
दशैंको अवसरमा चंगा चेट कार्यक्रमले झण्डै लोप हुने अवस्थामा पुगेको चंगा उडानलाई व्यापक बनाउन सहयोग मिल्ने आयोजक साप्ताहिकका कार्यकारी सम्पादक हरिसुन्दर छुकांले बताए । सो उडान आगामी २७ गते शनिबार हुने जानकारी संवाहक डटकमका सञ्चालक सञ्जिवप्रसाद दुलालले बताए । उनका अनुसार सो प्रतियोगितामा विजयीमध्ये प्रथम हुने व्यक्तिलाई खसी पुरस्कार दिइनेछ ।
चंगा उडानका लागि चाहिने धागो, लट्टाई र चंगा पनि प्रतिस्पर्धीले नै ल्याउनुपर्ने सो प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शूल्क रु. दुई हजारमात्र निर्धारण गरिएको छ । प्रतियोगितामा सहभागी स्पर्धीहरुलाई खाजाको पनि बन्दोबस्त गरिएको आयोजकले जनाएको छ ।