भक्तपुर । प्रहरीले भक्तपुरबाट चोरीको मोबाइलसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ५ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु तामाङ, नुवाकोट त्रिशूली घर भई हाल थिमी बस्ने २२ वर्षीय मनिष बस्नेत, भारत घर भई हाल सल्लाघारी बस्ने १८ वर्षीय अमोद चौधरी रहेको प्रहरीले जनाएको छ ।
दोलखा गौरीशङ्कर गाउँपालिका घर भई हाल मध्यपुर थिमी नगरपालिका– ४ कमेरोटारमा डेरा गरी बस्ने प्रवीण कार्कीको मोबाइल चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा विभिन्न ठाउँमा चोरी गरिएको ५ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए ।
पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए ।