जनप्रतिनिधिकै रोहवरमा एक लाखमा मिलाइयो ‘बोक्सी मुद्धा’

अनलाइन दर्पण 2018-09-07
img

बोक्सीको आरोप लगाउँदै तुलसीपुर १० की एक महिलामाथि गरिएको कुटपिटको घटना १ लाख रुपैयामा मिलाइएको छ । कुटपिटबाट घाइते तुलसीपुर–१० की भुमा लामिछानेले आफूमाथि कुटपिट गर्ने बिरुद्ध किटानी जाहेरी दिन समेत सक्नुभएन । तर, त्यो घटनालाई तुलसीपुर उपमहानगरपालिकाका केहि वडाध्यक्षहरुको रोहवरमा १ लाख रुपैयामा मिलाइएको छ ।

भुमाले आफू भोलि असुरक्षित रहने बताउँदै दोषी बिरुद्ध जाहेरी दिन नमानेपछि १ लाख रुपैयामा घटना मिलाइएको हो । तुलसीपुर–१० बस्ने भुमा लामिछाने बोक्सीको आरोपमा गत शनिबार कुटिनुभएको थियो । भुमालाई आफ्नै सासू, आमाजू र छिमेकी महिलाहरुले समेत बोक्सीको आरोप लगाउँदै आएका थिए । गत शनिबार तुलसीपुर–८ दुधेनाकी माता भनिने गीता न्यौपानेले बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गरेपछि भुमाकै घरपरिवार र छिमेकीहरु पनि भुमामाथि खनिए । कुटपिटबाट घाइते भएकी भुमाले उपचारबाफत् भन्दै मंगलबार १ लाख रुपैया लिएर माइत फर्किनुभयो ।

भुमाको श्रीमान क्यान्सर पीडित हुनुहुन्छ । क्यान्सरबाट पीडित भई अन्तिम अवस्थामा पुगेका श्रीमानलाई झारफुकका लागि भन्दै तुलसीपुर–८ बस्ने माता भनिने गीता न्यौपानेको घरमा पु¥याइएको थियो । एक वर्षदेखि झारफुक गर्ने काम गर्दै आएकी गीताले भुमालाई बोक्सीको आरोप लगाएपछि भुमामाथि कुटपिट भएको हो । बोक्सी लागेर ससुराको मृत्यु भएको र अहिले आफ्नै श्रीमानमाथि पनि बोक्सी लागेको आरोपमा आफूमाथि कुटपिट भएको भुमाले बताउनुभयो । आफूलाई तातो त्रिशुलले डामेको, गम्भीर घाइते हुने गरी कुटपिट गरेको भुमाले बताउनुभयो ।

‘मलाई भुइमा बस्न लगाएर माताले मलाई खरानीको डल्लो खान दिइन् । मैले खान्न भन्दा पनि सबैले खानैपर्छ भने, खाएपछि मलाई रिगांटा लाग्यो’, भुमाले भन्नुभयो, ‘त्यसपछि माता भन्ने गीता न्यौपानेले मलाई तँ बोक्सी, तैँले आफ्नो ससुरा पनि खाइस् । अब आफ्नो श्रीमानलाई पनि खान लागिस् भन्दै त्रिशुलले ढाडमा र खुट्टामा हानिन्’, जोहेरी दिन ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आएकी भुमाले अधिकारकर्मी, पत्रकारहरुलाई बताउनुभयो । ‘मसँगै गएका सासू, आमाजू श्रीमान पनि माताकै पक्षमा लागे, मलाई सबैले कुट्नसम्म कुटे । त्यहाँबाट भाग्न खोज्दा माताको श्रीमान खगेन्द्र न्यौपानेले डोरीले बाँधेर कुटे ।’

कुटपिटपछि माइतमा बस्दै आउनुभएकी भुमा सोमबार दिउँसो इप्रका तुलसीपुरमा मुद्धा दर्ता गर्न गएकी भए पनि दर्ता गर्नुभएन । पुनः मंगलबार पनि जाहेरी दिन भनि २ वर्षिया छोरी समातेर इप्रका तुलसीपुर पुगेकी भुमाको पक्षमा अधिकारकर्मी, महिला अधिकारकर्मी, आफन्तहरु र वडाध्यक्षहरु भए पनि उहाँले जाहेरी दिन मान्नुभएन । ‘श्रीमान क्यान्सरका बिरामी हुन्, मर्ने आज हो कि भोलि । यदि मैले मुद्धा दर्ता गरेँ भने मेरा छोराछोरीले अंश पाउँदैनन् । बरु म मुद्धा दर्ता गर्दिन’, उहाँले भन्नुभयो, ‘जस्तो भए पनि श्रीमान जिउदो छँदासम्म सँगै बस्छु, त्यसपछि आफ्नो नामको अंश छुट्याएर २ छोराछोरीसँगै बस्छु । अहिले जाहेरी दिएर म झन् पीडित बन्न चाहन्न ।’

यता गीता न्यौपानेका श्रीमानले आफूहरुलाई फसाइएको बताउनुभयो । २८ वर्षदेखि बिरामी आफ्नो श्रीमती गीता न्यौपानेले गत वर्षको जेठदेखि झारफुक गर्ने काम गर्दै आएको बताउँदै न्यौपानेले भुमा लामिछानेको पारिवारिक समस्यामा आफूहरुलाई फसाइएको उहाँले बताउनुभयो । उहाँले एक दिन हिरासतमा बस्नु परेको भन्दै १ लाख रुपैया दिएर मिलापत्र भएको जानकारी दिनुभयो । तर, जनप्रतिनिधिहरुले भने उपचार खर्च दिने सर्तमा मिलापत्र भएको बताएका छन् ।

तुलसीपुर वडानम्वर ८ का वडाध्यक्ष बेदबहादुर केसीले घटना बुझ्दा बोक्सी भन्ने शब्द प्रयोग नभएको बताउनुभयो । ‘बकाउने क्रममा काम छुटेर भुमालाई केहि चोटपटक लागेको थियो, त्यसको उपचारका लागि सामान्य खर्च दिने कुरा भइरहेको थियो’, वडाध्यक्ष केसीले बताउनुभयो । ‘तपाईहरु अभिभावक हो, आउनुस् भने पछि गएको हुँ । १ लाखमा मिलापत्र भएको बारे जानकारी छैन ।’

त्यस्तै वडानम्वर १० का वडाध्यक्ष कुमार लामिछानेले पनि बोक्सी सम्बन्धी मुद्धा नभएको बताउनुभयो । लामिछानेले झारफुक गर्ने क्रममा यातना दिँदा लागेको चोट पटकको उपचारको बिल भर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले किटानी जाहेरी दिनका लागि धेरै आग्रह गर्दा पनि पीडित महिलाले जोहेरी नदिएपछि मुद्धा अगाडि बढाउन नसकेको बताउनुभयो । बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै गीता न्यौपाने र उहाँका श्रीमान खगेन्द्र लामिछानेलाई पक्राउ गरेको भए पनि जाहेरी नआएपछि चेतावनीसहित उहाँहरुलाई छोडिएको सापकोटाले बताउनुभयो । ‘उहाँको श्रीमान क्यान्सरबाट लाष्ट स्टेजमा हुनुहँुदोरहेछ । श्रीमान मृत्युपछि पनि मैले त्यहि घरमा बस्नुपर्छ भनेर जाहेरी दिनै मान्नुभएन् । उहाँ साह्रै सोझी महिला हुनुहुन्थ्यो’, सापकोटाले भन्नुभयो, ‘पीडितले जाहेरी नै नदिएपछि प्रकाउ परेका खगेन्द्र न्यौपाने र गीता न्यौपानेलाई त्यत्तिकै सजाय दिन मिल्दैन् । उनीहरुलाई बिना सजाय छाड्न बाध्य भइएको हो ।’

महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रिय सचिव लक्ष्मी आचार्यले बोक्सीको सम्बन्धी कुनै पनि मुद्धा मिलाउन नपाइने बताउनुभयो । बोक्सी सम्बन्धी मुद्धा फौजदारी मुद्धा भएकाले कसैको रोहवरमा मिलाउन नपाइने उहाँको भनाई छ ।यो खबर नवीन अभिलाषीले दाङखबरमा लेखेका छन्,

सम्बन्धित समाचार