गत अार्थिक बर्षमा सञ्चालन गरेको ‘छोरी बचाउ अभियान’ सफल भएपछि विराटनगर महानगरपालिकाले अब ‘छोरी बचाउ र पढाउ’ अभियान सुरु गरेको छ ।
गत आर्थिक वर्षमा महानगरपालिकाले पहिलो सन्तानकाे रुपमा छोरी जन्माएका अभिभावकलाई ३ हजार पुरस्कार दिएको थियो ।
उपप्रमुख योजना अन्तर्गत गत बर्ष सञ्चालित ‘छोरी बचाउ अभियान‘ योजना सफल भएपछि महानगरले सोही अभियान अन्तर्गत यस वर्ष ‘छोरी बचाउ र छोरी पढाउ’ अभियान सञ्चालन गर्न लागेको हाे।
समाजमा छोरी माथि हुने गरेको विभेद हटाउन यस्तो कार्यक्रम सञ्चालन गरेको महानगरकी उपप्रमुख इन्दिरा कार्कीले बताइन् । अभियानका लागि महानगरले १० लाख बजेटको व्यवस्था गरेको छ ।
समाजमा अझै पनि छोरी जन्मदा खिस्रिक हुने तर छोरा जन्मेमा बढाइँ गर्ने चलन कायम रहेकाले छोरीको भ्रुण हत्या रोक्नलाई यो अभियान चलाइएको उपप्रमुख कार्कीले बताइन् ।
दोस्रो सन्तानकाे रुपमा छोरी जन्मे महानगरले उनकाे नाममा २५ हजार फिक्स डिपोजिट गरिदिने र जम्मा भएको रकम छोरी बालिग भएपछि चलाउन पाउने छिन् । यसका लागि महानगरले केही सर्तहरू राखेको छ । जसमा आमाले २० वर्ष पुगेपछि विवाह गरेको, गर्भ रहेपछि स्वास्थ्य संस्थामा नियमित ७ पटक परीक्षण गराएको, नेपाली नागरिक हुनु पर्ने, स्वास्थ्य संस्थामा प्रसुति गराउनु पर्ने र ३५ दिनभित्र बच्चाको जन्म दर्ता भएको हुनुपर्ने छ। पहिलो सन्तान छोरा भएकाले भने दोस्रो सन्तान छोरी जन्मेमा यो सुविधा लिन पाउने छैनन्।