मापसे चेकिङबाट खुल्यो हत्याको पोल

अनलाइन दर्पण 2018-07-04

काभ्रे । मंगलबार राति १ बजे तिर नियमित मापसे चेकिङका लागि ट्राफिक प्रहरी काभ्रेको साँगामा परिचालन भएको थियो ।

अरनिको राजमार्गको बनेपा तर्फबाट एउटा बाइक अत्याधिक गतिमा साँगातर्फ आयो । बनेपातर्फ आएको बाइक प्रहरीले चेकिङका लागि रोक्यो । पछाडि बसेका रामेछाप पटिपुगा गाउँपालिकाका २६ वर्षीय राजबहादुर थामी बाइकबाट झरिहाले । बाइक चालक रामेछापकै सन्तोष थामीले जवरजस्ती बाइक लछारपछार पार्दै भागे ।

बाइकमा रहेका राजबहादुरलाई प्रहरीले इलाका प्रहरी कार्यालय बनेपामा ल्याएर जेकजाँच गर्ने क्रममा उनका साथबाट सुनको सिक्री, झुम्का, पुराना नोट, तीन किलो जति सिक्का पैसा, तीनवटा मोवाइल भेटियो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गर्दै जाँदा उनी र सन्तोष थामीले पनौती-८ मल्फिकी तिलकुमारी देउजालाई लुटपाट पछि हत्या गरेको खुल्न आयो । सोही आधारमा प्रहरीले मल्पी पुगेर तिलकुमारीको घरमा हेर्दा, उनीहरुले लुटेर, हत्या गरी भागेको खुलेको थियो ।

प्रहरीले नियमित चेकिङ गर्दा शंका लागेपछि थप बुझ्न खोज्दा सन्तोष भागेपछि राजबहादुरसँग लिएको बयान र उनीहरुको साथबाट तिलकुमारीको नागरिकता भेटि्एको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।

उनले भने, ‘हामीले मापसे मात्रै होइन, राजमार्ग भएकाले शरीर पनि सर्च गर्दा, हामीलाई थाहा नै नभएको हत्या पनि तत्काल नै पत्ता लाग्यो ।’
प्रहरीका अनुसार उनीहरु हाल पनौतीमा ज्यालादारी काम गर्दै आएका छन् । -अनलाइनखबर

सम्बन्धित समाचार