सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ ।
घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताए ।
करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने गरेको छ ।
त्यसको फल सुपारी जस्तो हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भागमा काँचो नरिबलको स्वाद हुने गरेको छ ।
उक्त रुखमा फलेको फलको वैज्ञानिक परीक्षण शुरु भएको छ ।
खाँदा मीठो लागेपनि एक/दुई दानासम्म खाएमा केही नहुने र त्योभन्दा बढी खाएमा रिंगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लागी बिरामी पर्ने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताए ।
२०५२ सालमा सामुदायिक वन उपभोक्ता समिति बन्नु अगाडिदेखि नै त्यहाँ सो रुख रहेको र हाल त्यस रुखको संख्या ८० देखि ९० वटा रहेको छ ।
कसैले रामबुबा र कसैले राबुबा नामले पुकारिने सो रुखको काठ दाउरा कसैले पनि प्रयोगमा ल्याउँदैनन् ।
रामको नाम भएकाले अनिस्ट हुने आशंकामा स्थानीय कसैले पनि यस रुखलाई प्रयोग नगरेको अध्यक्ष थापाको भनाइ रहेको छ ।