काठमाडौँ: वेवारिसे शबहरुलाई आफ्नै हातले दागबत्ती दिएर स-सम्मान दाहसंस्कार गर्ने समाजसेवी विनयजंग बस्नेतले आफ्नो मृत्यु भएपछि कसले दागबत्ती देला भनेर सन्देह गरेका छन। सामाजिक संजालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्। ‘एक्सन फर सोसल चेन्ज’का अध्यक्ष बस्नेतले अहिलेसम्म ९७ वेवारिसे शबलाई आफ्नै हातले दागबत्ती दिइसकेका छन।
बिगतमा बेवारिसे शब सद्गत गर्न आफ्नो मोटरसाइकल बेचेका बस्नेतले अहिले आफ्नो पुर्ख्यौली जग्गाजमिन धितो राखेर भएपनि बेवारिसेहरुको संरक्षण र बेवारिसेहरुको शब व्यवस्थापन गर्दै आएका छन। आर्थिक रुपमा जोहो गर्न निकै गाह्रो पर्ने अवस्थामा सिमित व्यक्तिको सहयोग बाहेक सरकार पक्ष र अन्य सम्बन्धित ठाउँबाट सहयोग नभएको उनको गुनासो रहेको छ।
यो संसारिक दुनियाँ, यो झुटो संसार, सधैको एक तमासको पिडा, छटपटी अनि तनाब ......आफुले अरुलाइ भर दियो आफुलाइ भर दिन्छन भनेर बिस्वास गरेका हरुले हौसला दिएकै छन धेरैले पल-पल बिस्वासमा घात गरेको महसुस हुन्छ...तर अझै मरेको छैन मेरो आत्मबिस्वास , जति गारो पर्छ- उतिनै साहास अनि अझ बाच्ने उत्साह बढेर आउछ...
मैले केहि अझै गर्नुछ भन्ने आत्मबिस्वास ले सधै मलाइ हाँसेर बांच्न बाध्य बनाउछ.... मैले अझै बांच्नु पर्छ भन्ने अभिलाषा र उत्कन्ठाले मन उत्साहित हुन्छ तर मृत्यु त अवस्य छ, म पनि त कुनैदिन सहर्ष मर्नै पर्छ। अवस्य मर्नै पर्छ। मृत्यु सार्थक सत्य हो - एउटा तितो तर कटु सत्य.... सोच्छु - आज सम्म १०० भन्दा बढी आफन्तनभएका मृत शबको आफैले दागबत्ती दिएँ... म मरेपछी मलाई चाहिं कस्ले दागबत्ती देला ?? ?
‘एक्सन फर सोसल चेन्ज’ ले ७५ वटै जिल्लामा बेवारिसेहरुको व्यवस्थापनमा काम गर्ने अनुमति नेपाल सरकारबाट मान्यता पाइसकेको छ। संस्थाले १७ जिल्लामा साधारण समूह बनाएर शाखा स्थापना गरिसकेको छ। ९७ बेवारिसे शबलाई आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गरिसकेका बस्नेतले आगामी दिनमा झन् सशक्त ढंगले निस्वार्थ सेवा गर्ने बताएका छन। बस्नेतले सरकार पक्षबाट कुनै साथ र सहयोग नभए अझै पुर्ख्यौली सम्पत्ती बेचेर वा बन्दकी राखेरै भएपनि बेवारिसेहरुको सेवा गर्ने निर्णय गरेका छन ।