चितवनमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

अनलाइन दर्पण 2018-04-14
img

भरतपुर, २ वैशाख । चितवनमा सुमो अनियन्त्रित भई पल्टिदाँ १ जनाको मृत्यु भएको छ। अन्य ९ जना घाइते भएका छन्। 

पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना१ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।

शनिबार साँझ भएको उक्त दुर्घटनामा परी मकवानपुर जिल्ला बसामाडीका २१ वर्षीया गोमा बल्लभको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार सो दुर्घटनामा परी गाडी चालक मकवानपुर हेटौंडाका रवीन्द्र स्याङतान, मकवानपुर भीमफेदीका १९ वर्षीय विजय गोले, सोही ठाउँका ११ वर्षीय इमास स्याङ्तान र २५ वर्षीया दिविकामाया थिङ घाइते भएका छन्। 

यस्तै अन्य घाइतेमा मकवानपुर भीमफेदीकै २१ वर्षीया पदमा गोले, मकवानपुर बसामाडीकी २४ वर्षीया बीना लामा, मकवानपुर थाहा नगरपालिका–४ की २२ वर्षीया शोभा लामा, मकवानपुर भीमफेदीकी २० वर्षीया सिर्जना गोले र सोही ठाउँकी २० वर्षीया प्रमिला गोले रहेको प्रहरीले जनाएको छ। 

घाइतेको अहिले कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भैरहेको छ। 

सम्बन्धित समाचार