काठमाडौं,२९ चैत । नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षको कार्यक्रमहरु घोषणा गरेको छ । केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई आज रिहा गरे लगत्तै पुनः प्रहरीले गिरफ्तार गरेको भन्दै संघर्षको कार्यक्रमहरु घोषणा गरेको हो । उनीहरुलाई उदयपुरतिर लगिएको छ ।
नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गरेर गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । कार्यक्रमहरुमा विहीबार (आज) देखि वैशाख २ गतेसम्म प्रचारप्रसार, जनसंघर्ष, ३ गते मसाल जुलुस र ४ गते पूर्वी कमाण्ड बन्दको घोषणा गरेका छन् । सगरमाथा, जनकपुर, कोशी र मेची बैशाख ४ गते गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरिएका नेताहरुलाई धनकुटाको जिल्ला प्रशासनले समान्य धरौटीमा छोडेको थियो । तर, उदरपुरबाट गएको प्रहरी टोलीले पुनः गिरफ्तार गरेको हो । पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेतालाई पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिले बजारबाट प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला प्रशासन कार्यालयले सबै नेताहरुलाई निर्दोष सावित गर्दै सामान्य धरौटीमा रिहाइको आदेश दिएको थियो ।