काठमाडौं । उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेल जीवन बिताइरहेका बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले श्रेष्ठको शालिकमाथि तोडफोड गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थित अरुणाेदय माविको हाताभित्र रहेको उज्जन कुमार श्रेष्ठको शालिक बुधबार राती तोडफोड गरेका हुन् ।
मध्यराती ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’, जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिकलाई तोडफोड गरेको स्थानियले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भने जनयुद्धका मुद्दा ब्यूँत्याएर ढुंगेललाई जेल हालेको, शालिक निर्माणको नाममा विदेशी डलर कुम्ल्याएको तथा विद्यालय हाताभित्र शालिक निर्माण गरेको भन्दै तोडफोड गरेको जनाएको छन् ।
शालिक केही समय अघिमात्र अनावरण गरिएको थियो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको मुद्दामा बालकृष्ण ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि अहिले ढुंगेल जेलजीवन बिताइरहेका छन् ।