छोरा नजन्माएको निहुँमा तराई मधेसमा थुप्रै महिला जलेका छन्, थुप्रैको घरबार उजाडिएको छ ।
छोरा नजन्माएको भन्दै आफ्नो श्रीमान र सासु-ससुराले आगो लगाएकी पर्साको छिपहरमाई -४ तुलसिवर्वाकी रविना खातुन अहिले अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छन् ।
तर, गुड्डुबाबु चौधरी त्यस्ता भाग्यमानी हुन्, जसले गोला प्रथामा छोरा पाएका छन् ।
रौतहटबाट १७ बर्षअघि सिमरा झरेका उनी पुराना फलामे सामग्री किनबेच गरी गुजारा गरिरहेका छन् । १४ वर्षअघि पूजादेवी गुप्त्ाासँग बिहे गरेका उनका सन्तान छैन ।
बालबच्चा नभएकै कारण समाजले हेर्ने नजर फरक हुन्थ्यो । सबैजनाले व्यवसाय भन्दा पनि बालबाचा किन भएनन् भनेर सोध्ने गरेको भन्दै उनले भने, हामीलाई परिवार भन्दा समाजको डर थियो, बालबच्चा नभएकालाई राम्रो मान्दैनथे ।’
तर, अब गुड्डुबाबुलाई यो दुःख टरेको छ ।
कसरी ‘बुबा’ बने गुड्डु ?
१४ फागुनको बिहान जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित सडकछेउमा बेवारिसे नवजात शिशु भेटियो । पथलैयादेखि पूर्वतर्फ तीन नम्बर पुल नजिक सडक छेउमा शिशु फेला परेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए ।
अस्थायी चौकी पथलैयाको टोलीले उद्दार गरी शिशुलाई सिमरास्थित अल्पाईन अस्पताल पुर्यायो । छोरा भेटिएको खबर फर्लिएपछि पाल्छु भन्नेहरुको भीड नै लाग्यो ।
प्रहरीले जिल्ला प्रहरी कार्यलयमा रहेको महिला तथा बालबालिका सेलको रहोबरमा ८ बर्षसम्म सन्तान नपाएका पतीपत्नी, पालनपोषणका लागि आर्थिकरुपले सक्षम लगायत मापदण्ड पुरा गरेका ब्यत्तिलाई शिशु जिम्मा लगाउने बतायो ।
४ दर्जन बढी लिखित आवेदन दिए, जसमा गुड्डु पनि थिए । बच्चा भेटिएको खबर फेसबुकमार्फत थाहा पाएपछि उनी पनि आवेदन दिन पुगेका थिए ।
आवेदन दिनेहरु धेरै भएपछि प्रहरीले गोलाप्रथाबाट बच्च्ाा जिम्मा लगाउने निर्णय गर्यो । गढीमाईको फोटोलाई साक्षी राखेर जिल्ला प्रशासन कार्यालय, कलैयाको परिसरमा प्रहरीले चिठ्ठा गर्यो, जसमा गुड्डुबाबु भाग्यमानी ठहरिए ।
सबै प्रक्रिया पूरा गरी २६ फागुनको विहान गुड्डुबाबु र पूजादेवीले घरमा छोरलाई भि्त्रयाए । सोही दिनलाई जन्मको दिन मानेर ल्याएको छैटौँ दिनमा छटियार (न्वारान) धुमधामले गरे र छोराका नामाकरण गरे शिवमकुमार चौधरी ।
भगवान शिवको आराधना र पूजापाठले छोरा प्राप्त भएकाले शिवम नाम राखेको उनी बताउँछन् ।
पूजादेवी पनि कर्म आमा बन्न पाएकोमा खुसी छन् । शिशुतिर देखाउँदै गुड्डुले सुनाए, हामीले जन्म दिन नसकेपनि शिशु पायौं र बाबुआमा बन्यौ, यसमा धेरै खुशी छौं ।’
अब उनले शिवमको भविश्यलाई लिएर अनेक योजना पनि बुन्न थालेका छन् । ‘मैले मेरो छोरोलाई म भन्दा धेरै ठूलो मान्छे बनाउँछु, तर यो सत्य कहिले पनि भन्दिन, अलि बुझ्ने भएप्ाछि उसलाई पढाउनको लागि ठूलो शहरमा राख्छु’ उनले भने ।
तर, शिवम ठूलो भएपछि चिठ्ठामा पाएको सुनाउने कि नसुनासने उनी अन्यौलमा छन् । उनी चाहन्छन्, शिवमलाई उनी चिठ्ठामार्फत यो परिवारमा आएको थाहा नहोस् ।
तर एक झुट लुकाउन धेरै झुट बोल्नुपर्ने हुनसक्छ । त्यसैले उनी प्रतिप्रश्न गर्छन्, ‘के गर्दा ठीक होला ?source: https://www.onlinekhabar.com/2018/04/670571