भर्खर देखिदै बिकासको मुख, सडक बिस्तार र माटो कटानी कार्य सुरु

अनलाइन दर्पण 2018-03-31
img

यज्ञराज उपाध्याय / कैलाली(सुवर्णपुर), चैत १७ । जानकी गाउँपालिकाको वडा नम्बर ६ मा बिकासको मुख भर्खरै देखिन थालेको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भएको झण्डै ८ महिना बित्दा प्रत्यक्ष जनताले देख्ने किसिमको बिकास निर्माणको कार्य भर्खर देखिन थालेको छ ।

जानकी गाउँपालिका वडा नम्बर ६ को सुवर्णपुरमा शुक्रवार देखि करिब २ किलोमिटर सडकमा माटो पटानी कार्य सुरु भए सङ्गै स्थानिय जनता हर्षित बनेका छन । गाउँपालिकाको निर्णयमा करिब २ किलोमीटर सडकमा हाल माटो पटानि गर्ने र केही समय पछि ग्राभेल गरिने निर्णय भए पश्चात कार्य अघि बढाईएको वडा नम्बर ६ का सदस्य भगवती चौधरीले जानकारी दिए । ६ लाखको लागतमा माटो पटानी हुन लागेको सडकको चौडाई ३० फिट रहेको छ । लामो समय देखि यहि सडकका बिषयमा बारम्बार बिबाद हुँदै आईरहेको थियो ।

साविक दुर्गौली गाविसको वडा नम्बर ८ अन्तर्गत उत्तर तिर (धर्मापुरे कुला) छेउको सडक सिधै जगतपुरको पहिलो पुलको वारि सम्ममा माटो पटानी हुँदै छ । यो करिब १.३ किलोमीटर रहेको छ । यस्तै अर्को सुवर्णपुर कै चौराहा देखि सिधै वडा नम्बर ६ को वडा कार्यालयसम्मको सडकमा माटो पटानी हुँदै छ जुन करिब ७०० मिटर रहेको छ ।

वर्षा याम लाग्ने बित्तिकै हिलाम्य हुने यी सडकमा यो पटक माटो पटानी गरेर ग्राभेल नगरी त्यतिकै छोडे झनै हिलाम्य हुने स्थानियले चिन्ता ब्यक्त गरे पनि अर्को बर्ष भने ग्राभेल हुने स्थानीय सरकारले आश देखाएको छ । "स्थानिय सरकार आए पछि हामीले बिकास भनेको के हो भनी थाहा पाएको पहिलो काम यहि हो" एक स्थानिय नागरिकले बताए । अब यस्तै राम्रा कार्यहरु हुँदै जानेमा स्थानिय जनता बिस्वस्त समेत रहेका छन ।

सम्बन्धित समाचार