नेपाल र नेपालीको मुहारमा खुसीयाली ल्याउने महाअभियान सुरु: प्रधानमन्त्री

अनलाइन दर्पण 2018-02-19
img

काठमाडौं, ७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको मुहारमा खुसीयाली ल्याउने महाअभियान सुरु हुने उद्घोष गरेका छन्।

प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति तथा कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने बताए। ‘यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता र सहयोगको हार्दिक आव्हान गर्दछु’ उनले भनेका छन् ।

जनताले लामो सयमदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको उल्लेख गर्दै ओलीले न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासका लक्ष्य हासिल गर्ने अवसरको आरम्भ भएको बताए।

प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको युगसँगै मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र समाजिक न्यायको युगको यात्रा सुरु गर्न सबै राजनीतिकदल र आम नेपालीमा अपिल गरेका छन्। 

आम नेपालीले साँचेका सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले समयमै स्रोत र साधानलाई परिचालन गरेर नेपाल र नेपालीको बृहत्तर हित र समृद्धिका लागि जुट्न सबैलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले तीनै तहको सरकारको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको पनि बताएका छन् ।

सम्बन्धित समाचार