कांग्रेसले मंसिरभरि ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

अनलाइन दर्पण 2026-10-30
img

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकस्तरसम्म पुर्‍याउने उद्देश्यले आगामी मंसिर महिनाभरि ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्दै पार्टीलाई जिम्मेवार र परिणाममुखी ढङ्गले अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका हुन्।

सभापति थापाले कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक समस्या समाधान गर्न सक्षम र तयार पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्नेमा जोड दिए। महाधिवेशनका क्रममा समीक्षा र आत्मालोचनाको चरण पूरा भइसकेकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

उनले महाधिवेशनबाट पारित नीतिगत तथा सङ्गठनात्मक प्रस्तावहरूलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत पार्टीका तल्लो तहसम्म पुर्‍याइने जानकारी दिए।

त्यस्तै, महाधिवेशनबाट पारित प्रस्तावहरूलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन तथा थप विषयहरू केन्द्रीय कार्यालयमा उपलब्ध गराउन सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

अभियानमार्फत पार्टीका नीति तथा कार्यक्रम नागरिकसम्म पुर्‍याउनुका साथै नागरिकका समस्या र अपेक्षालाई सम्बोधन गर्ने कांग्रेसको लक्ष्य रहेको छ।

सम्बन्धित समाचार

Advertisement