जनताले तिरेको कर जनप्रतिनिधिको मोजमस्तीको लागि होइन : पूर्वअर्थमन्त्री पाण्डे

अनलाइन दर्पण 2019-10-17
img

चितवन, असोज ३० । नेकपाका स्थायी कमिटीका सदस्य एब‌‍म् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताले तिरेको कर जनप्रतिनिधिको मोजमस्तीको लागि नभएको बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले बडा दसैँ, शुभ दिपावली तथा छठ पर्व २०७६ को अवसरमा आयाेजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले बेलायती राजनीतिक इतिहासको उदाहरण दिँदै कर कसैलाई मोजमस्ती गर्नको लागि नभएको बताएका हुन् । 

उनले बेलायतमा लोकतान्त्रिक आन्दोलन चलिरहेको समयमा जनताले जिताएका प्रतिनिधिले शासनसत्ता नचलाएसम्म नागरिकले सरकारलाई कर तिर्देनौं नो ट्याक्सको आन्दोलन चलाएको सन्दर्भ प्रस्तुत गरे ।

उनले भने, ‘भाषणले मात्र देशमा समृद्धि आउँदैन, विकासका लागि पैसा चाहिन्छ । जसको कारणले राज्यले कर उठाउनु बाध्यता हो तर जनताले तिरेको कर मोजमस्तीमा खर्च गरिनु हुँदैन । ’ सरकारले कर तिम्रो लागि यसकारणले उठाइएको हो भन्ने स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले विचार राखे ।

सरकारले अहिले उठाइरहेको अनावश्यक करको औचित्य पुष्टि गर्न उनले सरकारलाई अनुरोध पनि गरे । हिजो क्रान्ति र आन्दोलनका च्याम्पियन बनेका नेताहरु अब देश निर्माणका च्याम्पियन बन्नुपर्ने उनको विचार थियो ।

सम्बन्धित समाचार

Advertisement