यसरी गरौं पुरानो मोबाइलको सदुपयोग

अनलाइन दर्पण 2016-12-01
img

बजारमा नयाँ मोडलको मोबाइल आएपछि किनौं किनौं नलाग्ने मानिस कमै मात्र हुन्छन् । तर, पुरानो मोबाइल हुँदाहुँदै नयाँ मोबाइल किन्न अप्ठ्यारै हुन्छ । पुरानो बेचेर नयाँ किन्ने योजना भए पनि भन्ने बित्तिकै बिक्ने कुरा पनि आउँदैन । नयाँ मोडल, नयाँ भर्शन, नयाँ लुक्स, नयाँ फिचर्स, नयाँ सुविधाले खल्ती चिलाइरहन्छ र मन एक हिसाबले खसखस भइरहेको हुन्छ । यस्तोमा अब के गर्ने त ? यही समस्यालाई दृष्टिगत गर्दै पुरानो मोबाइलको उपयोग गर्ने भन्नेबारे यहाँ चर्चा गर्न खोजिएकाे छ ।

पुरानो मोबाइल सेकेण्ड ह्याण्ड मार्केटमा नबिकेसम्म वा घरमै सङ्ग्रह गरिराख्दा उपयोग गर्ने केही तरीका :

अडियो भिडियो प्लेयर

पुरानो स्मार्टफोनलाई यत्तिकै थन्क्याएर राख्नुभन्दा यसलाई अडियो भिडियो प्लेयरको रूपमा उपयोग गर्न सकिन्छ । घरबाहिर जाँदा एमपीथ्री प्लेयरको रूपमा पनि यसलाई उपयोग गर्दा मुख्य मोबाइलको ब्याट्री सकिनबाट जोगिन्छ । घरमै राख्ने भए मोबाइलको एसडी कार्डमा गीत भरेर ऊफर वा म्युजिक प्लेयर जोडेर बजाउन सकिन्छ । यसका लागि ब्लुटुथ डिभाइस जोडेर पनि गीत सुन्ने वा टेलिभिजनसँग कनेक्ट गरेर चलचित्र हेर्न सकिन्छ । यसरी मोबाइल फोनलाई म्युजिक सिष्टममा जोडेर यसको उपयोग गर्न सकिन्छ ।

रिमोट कण्ट्रोल डिभाइस

स्मार्टफोनलाई रिमोट कण्ट्रोलरको रूपमा पनि उपयोग गर्न सकिन्छ । स्मार्टफोनबाटै म्युजिक प्लेयर, एसी, टीभी र डीभीडीलगायत उपकरण कण्ट्रोल गर्न सकिन्छ । यसका लागि आवश्यक एप्स डाउनलोड गर्न सकिन्छ । यदि मोबाइलमा आईआर ब्लाष्टर छ भने त एप्स नभए पनि सीधै उपयोग गर्न सकिन्छ ।

सेक्युरिटी क्यामेरा

घरमा सीसी क्यामेरा राख्ने इच्छा छ । तर, लगाउन सकिरहेको छैन भने पुरानो मोबाइललाई सीसी क्यामेराको रूपमा पनि उपयोग गर्न सकिन्छ । घरको मूल ढोका वा बैठक कोठा वा अन्यत्र आवश्यक परेको ठाउँमा राखेर भिडियो मोड अन गरेर यसको उपयोग गर्न सकिन्छ ।

फोनबाट रेकर्ड हुने भिडियोलाई डेक्सटपसँग कनेक्ट गरेर कण्ट्रोल गर्न सकिने हुँदा खासै झन्झट पनि हुँदैन । त्यस्तै, अरू प्राविधिक बोलाइराख्नुपर्ने बाध्यता रहँदैन । एसएमएसद्वारा सर्भर लिङ्क गरेर यसको प्रयोग गर्न जानियो भने झनै फलदायी हुन्छ । पुरानो मोबाइललाई सीसीटीभी क्यामेराको रूपमा प्रयोग गर्ने हो भने ‘सेफ आई होम अलार्म’ तथा होम सेक्युरिटी स्पाई क्यामेरा’ एप्स इन्ष्टल गर्नुपर्ने हुन्छ ।

डिजिटल फोटो फ्रेम

पुरानो स्मार्टफोनलाई डिजिटल फोटो फ्रेमको रूपमा प्रयोग गर्न सकिन्छ । जस्तै, तपाईंसँग धेरै तस्वीर हुन सक्छन्, तर ती सबै प्रयोग भइरहेको मोबाइलमा राख्दा पहिलो मेमोरी फूल हुन सक्छ । त्यस्तै, त्यो सबै बोकेर हिँडिराख्नु त्यति उचित पनि हुँदैन । त्यस्तो बेला तपाईं आफ्ना पुराना तस्वीर पुरानो मोबाइलमा सङ्ग्रह गरेर राख्न सक्नुहुन्छ । डिजिटल फोटो स्लाइड शोजस्ता एप्सहरू तपाईंको काम आउँछन् । यदि तपाईंको घरमा वाईफाई छ भने पुराना फोनलाई टीभी तथा डीभीडी प्लेयरमा राखेर पनि हेर्न सकिन्छ । केबलबाटै पनि जोड्न सकिन्छ ।

डिजिटल रेडियो

पुरानो स्मार्टफोनलाई डिजिटल रेडियोको रूपमा पनि उपयोग गर्न सकिन्छ । हरेक स्मार्टफोनमा एफएम त पक्कै नै हुन्छ । त्यसैले, यसलाई घरको आवश्यक ठाउँमा वा किचेन, बाथरूममा रेडियो सेटको रूपमा उपयोग गर्न सकिन्छ ।

वाईफाई हटस्पट/यूएसबी टेठरिङ

घरमा इण्टरनेट लाइन छ, तर कनेक्शन स्लो वा इरर छ, घरमा इण्टरनेटको लाइन नै जोडिएको छैन र कम्प्युटरमै सोसिएल नेटवर्क प्रयोग गर्न मन लाग्यो भने पुरानो मोबाइलको उपयोग गर्न सकिन्छ । अहिले मोबाइल सेवा प्रदायकहरूले पनि विभिन्न प्याकेजका साथ इण्टरनेट डाटालाई सर्वसुलभ बनाउन थालिसकेको छ । त्यसैले, यसको अधिकतम उपयोग पुरानो मोबाइललाई हटस्पट क्रियटर बनाएर ल्यापटप वा डेस्कटपमा (वाईफाई ड्राइभमार्फत) चलाउन सकिन्छ । काठमाडौंजस्तो घना बस्ती भएको ठाउँमा झ्यालमा नेट आउने अनि कोठामा नआउने समस्या हुन्छ । यस्तो बेला वेभ सफरिङ गर्न मन लाग्यो भने पुरानो मोबाइलबाट हटस्पट क्रियट गरेर नेटको मज्जा लिन सकिन्छ ।

डिजिटल घडी र अलार्म

पुरानो मोबाइललाई डिजिटल घडीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । मोबाइलको स्क्रिन सेभरको रूपमा डिजिटल घडी राखेर कोठाको भित्तामा वा टेबलमा राख्न सकिन्छ । यसले राति बत्ती निभेको बेला पनि कति बजेको रहेछ भने हेर्न सजिलो हुन्छ । यसैमा अलार्म सेट ग¥यौं भने त झनै यसको उपयोग हुन्छ ।

यसबाहेक पुराना मोबाइललाई टेबल क्यालेण्डर, डिजिटल फोटो फ्रेम, ई–रिडरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । मोबाइललाई यी कुरामा उपयोग गर्न मन लागेन र विक्री पनि गर्न सकेन भने कुनै सामाजिक सङ्घसंस्थालाई दान दिँदा कुनै गरीब वा असहायका लागि उपयोगी साधन बन्ने हुन्छ ।

 

 

सम्बन्धित समाचार

Advertisement