के तपाईं पनि दैनिक सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नुहुन्छ ?

अनलाइन दर्पण 2018-07-15
img

सेल्फी कस्तो देखिएला भनेर तपाईंलाई चिन्ता लाग्छ ? त्यसो हो भने सजग हुनुहोस्, केही वर्षयताका विभिन्न अनुसन्धानले सेल्फीलाई मानसिक अस्वस्थतासँग जोडेका छन् ।

केही समयअघि लण्डनका एक मनोचिकित्सक डा. डेभिड भिलले लगातार सेल्फी खिचिरहनु बानी नभएर ‘बडी डिस्मर्फिक डिसअर्डर’ को लक्षण भएको दाबी गरेका थिए । यसका बिरामीले आफ्नो रुपमा काल्पनिक खराबी देख्छन् ।

उनले भनेका छन्, ‘क्यामेरा फोनको विकास भएयता मकहाँ आउने तीनमध्ये दुई बडी डिसमर्फिक डिसअर्डर भएका बिरामी खुरुखुरु सेल्फी खिच्ने र सामाजिक सञ्जालका साइटहरुमा अपलोड गर्ने इच्छाले ग्रस्त हुन्छन् ।’

यस्तै एक घटनामा बेलायती किशोर ड्यानी बोम्यानले आत्महत्याको प्रयास गरे किनभने उनी आफूले खिचेको सेल्फीमा आफ्नो रुप देखेर असन्तुष्ट भएका थिए । उनी केटीहरुलाई आकर्षित गर्न यति बेचैन थिए कि उनले ‘पर्फेक्ट’ सेल्फी खिच्नका लागि दैनिक १० घन्टाभन्दा बढी समय बिताए र २ सय भन्दा बढी सेल्फी खिचे ।

उनले स्कुल छोडे, घरबाट निस्किन छोडे र अन्ततः आत्महत्याको प्रयास गरे । ‘म निरन्तर पर्फेक्ट सेल्फीको खोजीमा थिएँ । र जब यस्तो सेल्फी खिच्न सक्तिनँ भन्ने महसुस भयो, मलाई मर्न मन लाग्यो,’ ती किशोरको भनाइलाई सन्डे मिररले उद्दृत गरेको छ ।

हालै लण्डनकी एक अर्की मनोचिकित्सक लिन्डा पापाडोपोलसले पनि ‘इटिङ डिसअर्डर’ तथा अन्य मानसिक रोगसँग सेल्फी सम्बन्धित भएको बताएकी छन् । उनका अनुसार सेल्फीका कारण मानिसहरु सामाजिक सञ्जालमा बढी समय बिताउने र आफूलाई एक वस्तुका रुपमा विश्लेषण गर्ने गर्दछन् । उनले मानिसहरुलाई सुन्दरतामा मात्र केन्द्रित नभई अन्य गुणमा पनि ध्यान दिन आग्रह गरेकी छन् ।

‘हामीलाई थाहा छ, ‘बडी इमेज इटिङ डिसअर्डर’ बढेको छ । सहश्राब्दीमा जन्मिएकाहरुमा सबैभन्दा उच्च डिप्रेसन छ,’ उनी भन्छिन्, ‘सेल्फी संस्कृतिमा पहिचानको एडिटिङ र रिएडिटिङ हुने गरेको हामी देख्छौं । गितारको साथमा सेल्फी खिचौं ? खुट्टा देखाउँ कि नदेखाउँ ? यो एपबाट कि त्यो एपबाट ?’

खासगरी किशोरकिशोरी सेल्फीका कारण बढी समस्यामा पर्ने गरेका छन् । सेलिब्रेटीहरुको देखासिकी गर्ने क्रम बढेसँगै यसले ल्याउने मानसिक तनाव पनि बढ्दो छ । यस विषयमा सोसल मिडिया स्टारहरुले पनि सचेतता अपनाउनुपर्ने पापाडोपोलसको भनाइ छ ।

यस्ता समस्याबाट मुक्तिका लागि आपसी कुराकानी सबैभन्दा भरपर्दो तरिका रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सोच्नुस्, पढ्नुस्, कुरा गर्नुस् । यी चीजबाट तपाईंलाई सहज अनुभव गर्न सक्नुहुनेछ ।’

सम्बन्धित समाचार

Advertisement