काठमाडौँ, कार्तिक ९ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै गर्दा चितवन राइनोजले टिसर्टलगायत सामग्री बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा खर्च गर्ने घोषणा गरेको छ। क्लबले यसपटक उपाधि जित्ने लक्ष्यसमेत राखेको छ। एनपिएलको विजेताले रु. एक करोड ५० लाख र उपविजेताले रु. ८० लाख पुरस्कार प्राप्त गर्नेछन्।
क्लबका अध्यक्ष आयुष न्यौपानेले आफ्नो नाम गैँडासँग जोडिएकाले यसको संरक्षणमा योगदान पुर्याउन यस्तो पहल गरिएको बताउनुभयो। चितवनको पहिचानका रूपमा रहेको गैँडाको तस्बिर अङ्कित सामग्रीमार्फत क्लबले संरक्षणको सन्देशसमेत प्रवाह गर्दै आएको छ।
पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ स्थानमा सीमित भएको थियो। यसपटक टोलीलाई समर्थन गर्न चितवनका विभिन्न स्थानमा खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ।
क्रिकेट प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय क्लबले स्थानीय क्लबलाई सहयोग गर्नुका साथै भोटेकोशी बाढीपीडितलाई राहतसमेत प्रदान गरेको छ। एनपिएललाई अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलोपटक अन्तरराष्ट्रिय मान्यता प्रदान गरेसँगै नेपाली क्रिकेटको अन्तरराष्ट्रिय पहिचान विस्तार हुने अपेक्षा गरिएको छ।