पेलेका चार नाम र त्यसको रोचक कथा

अनलाइन दर्पण 2018-06-19
img

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा बढी योगदान कसैको रहेको छ भने ऊ पेले हो ।

पेलेलाई फुटबलको जादुगर भनिन्छ । उनको आफ्नो जादुको प्रभावले देशलाई दिलाएको सफलता आजसम्म कसैले बराबरी गर्न सकेको छैन ।

उनको सहभागीतामा ब्राजिलले तीन पटक फुटबल विश्वकप जित्यो – सन् १९५८, १९६२ र १९७० मा । तीन विश्वकप उचाल्ने पेले विश्वका एक मात्र फुटबलर हुन् ।

यसको साथ साथै सबैभन्दा कम उमेरमा विश्वकपमा गोल गर्ने, फाइनलमा पहिलो ह्याट्रिक हान्ने र धेरै फाइनल खेल्ने रेकर्ड पनि उनकै नाममा छ । पछिल्लो रेकर्ड आज ६० वर्ष पछि कसैले तोड्न सकेको छैन ।

ब्राजिलमात्र होइन संसारभरी फुटबललाई लोकप्रिय बनाउने पेलेको जादुको कथा जत्तिकै रोचक छ उनको नामको कथा ।

सबैभन्दा रोचक कुरा पेलेको नामबाट चिनिने यो नाम न उनको असली नाम थियो न त ‘निकनेम’ नै ।

पेलेको जन्म ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर १९४० मा भएको थियो ।

क्लब स्तरका फुटबलर पिता र गृहणी आमाले उनको नाम ‘एडसन’ राखिदिए ।

यो नाम राख्नुको कारणबारे उनले आफ्नो सस्मरण ‘ह्वाई सकर म्याटर्स’ यस्तो उल्लेख गरेका छन् ः “मेरो जन्म भएको समयमै मेरो सहरमा पहिलो पटक बिजुलीको बल्ब आएको थियो । मेरो आमा–बुवा बिजुलीको बल्बबाट सम्मोहित भएका थिए । त्यसपछि उनीहरुले यसलाई बनाउने थोमस अल्बा एडिसनको सम्मानमा मेरो नाम राख्न चाहे । तर उनीहरुले मेरो नाम राख्दा केही हिज्जे गल्ती गरेपछि मेरो नाम एडिसनको साटो एडसन भयो ।”

यसरी पेलेको नाम एडसन भयो । पूरा नाम एडसन आरन्तेस दो नासिमेन्तो । ब्राजिलमा यस्तै खालको लामो नाम राख्ने चलन रहेको छ । त्यस अतिरिक्त मानिसहरुको छुट्टै छद्म राखिन्छ ।

ब्राजिलमा हरेकको एक दुई ‘निकनेम’ हुने गर्छ । यस नामले उनीहरुलाई घरमा र साथीहरुले बोलाउने गर्छन् ।

पेलेको ‘निकनेम’ थियो डिको । उनलाई चिन्नेहरुले यही नामले बोलाउँथे ।

डिकोको बुवा आफै फुटबल खेल्थे । तर २५ वर्षको उमेरमा चेटको कारण उनको फुटबल करियर क्लब स्तरभन्दा अघि बढ्न सकेन । त्यसैले उनले आफ्नो छोरालाई फुटबलर बनाउने सपना देखेका थिए ।
पछि उनको परिवार साओ पाउलोको बाउरु शहरमा बसाईं स¥यो ।

बाल्यकालमै पेलेको उत्कृष्ट खेल कौशलको चर्चा हुन थालिसकेको थियो । पेलेले फुटबलको लागि आवश्यक संसाधन बीनानै खेलमा एक हिसाबको कौशल विकास गरेका थिए ।

पेले च्यात्तिएको पुरानो कपडाको बल बनाएर फुटबल खेल्थे र कहिले घरको नजिक रहेको रेल स्टेशनमा रोकिएका रेलका सामानहरु चोर्थे र त्यसलाई बेचेर आएको पैसा जम्मा गरेर बल किन्थे ।

९–१० वर्षको उमेरमा नै ‘डिको’ले आफ्ना साथीहरुलाई तीब्र गतिमा छक्याउन सक्थे । उनको गति यस्तो थियो कि उनलाई कुनै साथीहरुले भेट्न सक्दैनथे । यही कारण उनको नाम ‘ग्यासोलिना’(ग्यास जस्तो) रहन पुग्यो ।

पेलेलाई यो नाम केही हदसम्म मन पनि प¥यो ।

तर उनको नाम पेले कसरी रह्यो भन्ने बारेमा कुनै स्पष्टता रहेको छैन । यही कारणले यसबारेमा विभिन्न दाबीहरु गरिन्छ । सबैभन्दा ठूलो स्वरमा व्यक्त गरिने दावी अनुसार गेलिक भाषामा पेलेको अर्थ फुटबल हुन्छ, त्यही कारणले उनको नाम पेले रहन गयो । 

तर यो दावीलाई साँचो मान्न सकिँदैन । किनकी गेलिक आयरल्याण्डको वरपरको भाषा हो र त्यसको कुनै शब्द त्यो समयमा हजारौँ किलोमिटर टाढा ब्राजिलमा पुगेको थिएन । 

पेले शब्द ‘हिब्रू’ भाषामा पनि पाइन्छ । जसमा उनको अर्थ चमत्कार हुन्छ । तर, त्यो भाषा पनि ब्राजिल सम्म पुगेको छैन ।

ब्राजिलमा पर्तुगाली भाषा बोलिन्छ । त्यो भाषामा पेलेको केही अर्थ हुदैन । तर १५ वर्षको उमेरमा सान्तोष क्लबमा जोडिदाँ पेलेको उक्त नाम रहिसकेको थियो ।

पेले नाम रहनुको कारणबारे पेलेले आफ्नो आत्मकथा ‘ह्वाइ सकर म्याटर्स’ मा बयान गरेका छन् । उनले लेखेका छन् “कोही पनि सही तरिकाले पेले नाम कहाँबाट आयो बताउन सक्दैनन् । तर मेरो मामा जर्जले भनेको कुरा सबैभन्दा विश्वसनीय छ ।”

पेलेका मामा जर्ज उनीहरुसँगै बस्थे र कयैन वर्षसम्म उनको कमाईमा पेलेको परिवार निर्भर रहेको थियो ।

जर्जका अनुसार बाउरुको स्थानीय फुटबल क्लबका एक गोलकिपरको नाम बिले थियो । त्यो क्लब पेलेको पिताले पनि खेलेको क्लब थियो । बिले आफ्नो शानदार गोलकिपिङ्गको कारणले निक्कै लोकप्रिय थिए ।

अर्को तर्फ बाल्यकालमा डिकोले कयैन पटक गोलकिपरको पनि भूमिका निभाएका थिए । उनले राम्रो बचाउ गर्दा मानिसहरु उनलाई दोश्रो बिले भन्ने गर्थे । 

पेलेले आफ्नो आत्मवृतान्तमा भनेका छन् “हेर्दा हेर्दै बिले कहिले पेलेमा बदलियो कसैले ख्यालै गरेनन् ।”

तथापी शुरु शुरुमा डिको आफूलाई पेले भन्ने साथीहरुसँग झगडा गर्थे । उनलाई यो नाम फिटिक्कै मन पर्दैनथ्यो ।

तथापी छेउछाउका मानिसहरुले उनलाई पेले नामले चिन्न थालिसकेका थिए । तर, आधिकारिक रुपमा उनको पेले नाम सान्तोष क्लबसँग जोडिएपछि शुरु भएको हो ।

अनुमान गर्न गाह्रो छैन कि सान्तोषका प्रबन्धकहरुले पेलेलाई एक ब्राण्डमा बदल्न महत्वपूर्ण भूमिका निभाए ।

यसको बारेमा पेलेले आफ्नो आत्मकथामा थप लेखेका छन्, “पेले एक अलग पहिचान बनिसकेको थियो । एडसन बाउरुबाट आएको एक गरिब केटो थियो । उसलाई घरको सम्झना आउँथ्यो । तर अर्को तर्फ पेले किशोर कालमै उदाउदो ‘स्टार’ थियो । उसलाई विश्वकै सबैभन्दा ठूलो खेलाडी बन्छ भन्ने आशा गरिएको थियो ।”

“एड्सन एक सङ्कोची केटा थियो भने पेले हजारौँ मानिसहरु अगाडी पनि क्यामेराको अघि सहज ढंगले मुस्कुराउन सक्थ्यो । एक मानिसको दुई रुप थियो, दुई भिन्न वास्तविकता थियो । एउटालाई म राम्ररी चिन्दथें, अर्को नयाँ थियो, जो बदलिरहेको थियो र कहिले काँकी उसलाई देखेर म आतिन्थें ।”-एजेन्सी

सम्बन्धित समाचार

Advertisement