लकडाउन लम्ब्याउने तयारी, केही खुकुलो बनाइँदै

अनलाइन दर्पण 2020-05-30
img

काठमाडौं, १७ जेठ । विश्वभर महामारीको रुपमा फेलिएको कोरोना भाइरस (कोभिड–१९) काे जोखिम  कम गर्न जारी लकडाउन सरकारले कम्तिमा जेठभर थप्ने संकेत गरिसकेको छ । जारी लकडाउन जेठ २० सम्म तोकिएपनि त्यसपछि लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको संघर्षमा जाने बताएका थिए । उनले उद्दोगहरु खुल्न दिने र निर्माणका कार्य गर्न छुट दिइने उल्लेख गरेका थिए । कोरोनाविरुद्धको लडाईं लामो हुने भन्दै संघर्ष र आर्थिक गतिविधि सुरक्षाको उपाय अपनाएर गरिने बताएका थिए ।

विश्वस्त स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था अझै केही समय बन्द गर्नेछ । तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा मन्त्रालय लागिपरेको छ ।

उद्दोगहरु संचालन हुनेछन् । त्यसका लागि भने सम्बन्धित उद्दोगीले सुरक्षाको वातावरण मिलाउनुपर्नेछ । कृषि कार्य गर्न छुट नै छ ।
विशेषगरी विदेशमा रहेका अलपत्र नेपालीको उद्धार गरी रोजगारीमा लगाउने सरकारको तयारी छ । उनीहरुलाई निर्माण क्षेत्रमा लगाउने तयारीका साथ सरकार लागेको छ ।

कोरोनाविरुद्धको लडाईंमा निर्माण कार्यलाई गति दिने सरकारको तयारी देखिएको छ । गोरवका आयोजना र ठुला आयोजनाहरुले पनि गति लिनेछन् ।

देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिन लागेको हो । अस्पतालहरु कोरोना संक्रमितले भरिदै गएपछि सरकारले घरमै आइशोलेशनमा रहने गरी व्यवस्था समेत गर्न लागेको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पछिल्लो पटक थपिएको लकडाउनको अवधि २० जेठमा सकिँदै छ ।

लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण बढ्ने क्रम भने जारी छ । लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने  यो समाचार तयार गर्दा सम्म  १४०१ जना पुगेका छन् । 

 नेपालमा हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ७ जना संक्रमितको मृत्यु समेत भएको छ । 

सम्बन्धित समाचार

Advertisement