कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पारेको प्रभाव

अनलाइन दर्पण 2020-07-20
img

  ललित न्यौपाने

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक लगायतका हरेक क्षेत्रमा यसले प्रत्येक्ष प्रभाव पारिरहेको छ । कोरोना भाइरसको प्रभाव कहिलेसम्म रहने हो भन्ने कुराको कुनै निश्चित छैन । विश्वव्यापी रूपमा जुन गतिमा यस भाइरसको सङ्क्रमण बढ्दै गएको छ, सोही गतिमा बढ्दै जाने हो र नियन्त्रण गर्न सकिएन भने यसको प्रभावले मुलुकलाई तहसनहस पार्दै पछाडि धकेल्ने निश्चित नै छ । सरकारी निकायमा रहेका जिम्मेवार नागरिकहरूले यसको रोकथाम तथा नियन्त्रण कार्यमा गम्भीर नबन्ने हो भने ठूलो विपत्ति व्यहोर्नुपर्ने देखिन्छ । विश्वकै मानव जातिलाई कडा चुनौती दिइरहेको कोरोना भाइरसको प्रभाव शिक्षा क्षेत्रमा व्यापक रूपमा पर्दै गएको छ र यसले भविष्यमा झन् बढी असर पार्दै जाने सम्भावना देखिन्छ । कोरोना भाइरसका कारण देशका विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक गतिविधि बन्द भएका छन् ।

स्वास्थ्य क्षेत्रको विश्व भरिको सर्बोच्च निकाय विश्व स्वास्थ्य सङ्गठनले पनि यस सन्दर्भमा कुनै योग्य र प्रगतिशील पहलकदम चाल्न सकेको छैन । आज कोरोना भाइरस यस्तो खतरनाक चुनौतीको रूपमा प्रकट भएको छ कि यसले मानिसको स्वास्थ्य रक्षाको सवालमा आधुनिक चिकित्सा विज्ञानको प्रगतिलाई समेत चुनौती दिएको छ । विश्व अर्थतन्त्र अनुमान नै गर्न नसकिने गरी भयानक क्षतिको सङ्घारमा पुगेको छ । उत्पादन, रोजगारी, बचत, आयात, निर्यात जस्ता आर्थिक विकासका सुचकहरु पनि खतरामा परेका छन् । सम्पूर्ण उत्पादनशील मानवीय क्रियाकलापहरु ठप्प अवस्थामा रहेका छन् । समग्र विश्वको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, पर्यटन, उद्योग, कलकारखाना लगायतका क्षेत्रले अनौठो धक्का व्यहोर्न परिरहेको छ ।

विश्वकै शैक्षिक क्षेत्रले निकै विकराल र भयावह अवस्थाको सामाना गर्नु परिरहेको बेलामा नेपाल पनि त्यसबाट अछुतो रहेन । आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन् । यतिबेला विश्वभर करिब १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८ सय ७० विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका समेत अबरुद्ध भएको छ । कुल विद्यार्थी सङ्ख्याको ९१.३ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५४ विद्यार्थीहरु राष्ट्रव्यापी विद्यालय बन्दको प्रभावमा परेका छन् भने बाँकी विद्यार्थीहरु स्थानीय रूपमा गरिएको बन्दको प्रभावमा परेका छन् । विद्यालय तथा विश्वविद्यालयहरु बन्द भएका कारण कतिपय विद्यार्थीहरु विशेषगरी छात्राहरु घरेलु तथा अन्य हिंसाको सिकार बन्नु परेका घटनाहरु पनि सुनिन्छन् । नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था महामारीकै चरणमा नभएता पनि सङ्क्रमणको जोखिम बढ्न सक्ने खतरा भएका कारण शैक्षिक संस्था लगायत अन्य सम्पूर्ण पेशा, व्यवसाय तथा कार्यालयहरु चैत ११ गतेदेखि नै पूर्ण रुपमा बन्दाबन्दीमा परे ।

विद्यालय तहमा देशभरका सामुदायिक र निजी विद्यालयका कुल ३५ हजार ५५ ओटा विद्यालयका करिब ७२ लाख १४ हजार विद्यार्थीहरु र उच्च शिक्षाअन्तर्गत विभिन्न ११ ओटा विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका १ हजार ४ सय २५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरु आज घरमै बस्न बाध्य भएका छन् ।एस.ई.ईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरुको परीक्षा नै खारेज गरि विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरिसकेको छ भने कक्षा ११ र १२ को परीक्षाको अन्तिम तयारीमा रहेका कुल ९ लाख ६२ हजार विद्यार्थीहरु परीक्षा हुने वा नहुने भन्ने कुरामा अन्योलमा परेका छन् । सम्पूर्ण विश्वविद्यालयहरुका नियमित वार्षिक परीक्षाहरु समेत रोकिएका छन् । जसका कारण परीक्षा तयारीमा जुटेका लाखौंलाख विद्यार्थीहरु आफ्नो शैक्षिक भविष्य के हुने हो भन्ने कुराको दोधारमा परेका छन् । यस्तो बेलामा विद्यार्थीहरुलाई कसरी शैक्षिक क्रियाकलापमा व्यस्त बनाइराख्ने भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

अहिलेको समय भनेको विश्वव्यापी महामारीको अवस्था भएको र मानव स्वास्थ्यको सुरक्षा रहेको हुँदा अन्य विषयमा ध्यान नजानु स्वाभाविकै हो । तर मानव स्वास्थ्य सुरक्षाका सम्बन्धमा नेपाल सरकारका सरोकारवाला, मन्त्रालय, विभाग र अन्य निकायहरु निकै जिम्मेवार हुनुपर्दछ । मुलुकको सुखद् भविष्यको आधारको रूपमा रहेको शिक्षा प्रणालीलाई यस्तो सङ्कटपूर्ण अवस्थामा कसरी नियमित गर्न सकिन्छ भन्ने सन्दर्भमा शिक्षा मन्त्रालयले समयमै विशेष ध्यान पुर्‍याउनै पर्दछ।

छिमेकी मुलुक भारतमा बढ्दो दरमा सङ्क्रमण र मृत्युको अवस्था तथा नेपालमा समेत सङ्क्रमणको सङ्ख्या बढिरहेका कारण निकै सतर्क रहनु पर्ने देखिन्छ । लकडाउन खुल्ला गरे पनि विद्यालय सञ्चालन गर्न सकिने वातावरण निर्माण हुँदैन । परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा उपस्थित गराई परीक्षा सञ्चालन गर्नु निकै कठिनपूर्ण अवस्था नै देखिन्छ । किनभने सङ्क्रमित मानिस उपचारपछि सन्चो भई घर फर्किसकेका अवस्थामा पुनः सङ्क्रमण देखिनुले यो कोरोना भाइरस सङ्क्रमण रोकिने अन्तिम समय कहिलेसम्म हो भन्ने नै निश्चित छैन । आजसम्म पनि भाइरस उत्पत्तिको कारण र यसको नियन्त्रणका लागि चाहिने औषधि निर्माण गर्न कुनै पनि देशले सकेको छैन । विभिन्न वैज्ञानिकहरु यस विषयमा खोज, अनुसन्धान र अध्ययनमै लागिपरेका छन् ।

कोरोना भाइरसले अझैँ कति क्षति पुर्‍याउँछ भन्ने कुराको अनुमान गर्न सकिने अवस्था छैन । त्यसैले यो असहज र कठिन अवस्था अझैँ लामो समयसम्म रहिरहने खतरा भयो भने कक्षा ११ र १२ तथा केही विश्वविद्यालयहरुको परीक्षाको अन्तिम तयारीमा रहेका करिब १५ लाख विद्यार्थीहरुको परीक्षाको सम्बन्धमा केही वैकल्पिक विधिहरुको बारेमा पनि सोच्नुपर्ने देखिन्छ । त्यसैगरी घरमै बसिरहेका नेपालका करिब ८० लाखभन्दा बढी विद्यार्थीहरुको शैक्षिक भविष्य कसरी नियमित गर्ने र बिग्रन नदिने भन्ने सन्दर्भमा उपयुक्त निर्णय लिन आवश्यक छ । पछिल्लो अवस्थामा विद्यार्थीहरुमा पढ्ने बानी हराउँदै गइरहेको, बीचमै पढाइ छोड्ने र शैक्षिक शासन वयवस्था कमजोर हुँदै गएको अवस्थामा लामो समयसम्म विद्यार्थीहरुलाई नियमित शैक्षिक क्रियाकलापबाट टाढा राख्ने कुराले भविष्यमा ठुलो असर पर्न सक्छ । त्यसैले शिक्षा क्षेत्रको यो भयानक र दर्दनाक अवस्थाको जानकारी हुँदाहुँदै कोरोना भाइरसलाई मात्रै बहाना बनाएर चुपचाप बस्न कुनै पनि सरोकारवाला तथा सरकारी निकायहरुलाई छुट दिनु हुँदैन ।

नेपालको शिक्षा क्षेत्रको सङ्कटपूर्ण यस अवस्थाम्मा नेपालको शैक्षिक प्रणालीलाई खतरामा पुग्न नदिन लापरबाही गर्नु हुन्न भन्ने गम्भीर सिकाइ पनि हो । त्यसैले विद्यालय पुग्न कठिन भएको यो भयावह अवस्थामा विद्यार्थीहरुलाई नियमित शैक्षिक क्रियाकलापबाट टाढा हुन नदिन उनीहरुसँग शैक्षिक सम्पर्क मजबुत बनाउदै श्रब्य/दृष्य, ई सिकाइ र भर्चुअल कक्षा जस्ता वैकल्पिक माध्यमको प्रयोग गरि कक्षा सञ्चालन गर्नुपर्दछ । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न दिएको चुनौतीले सिर्जना गरेको उल्लेखनीय अवसर पनि हो । तसर्थ विद्यालय तथा क्याम्पस खोल्न हतार नगरी वैकल्पिक सिकाइतर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।

सरकारले इन्टरनेटको सुविधाका लागी नि:शुल्क सेवा विस्तार गर्न केहि बजेट शिक्षा क्षेत्रमा खर्च गरि प्रविधिमैत्री शिक्षा बनाउनु पर्ने देखिन्छ । सहजै पहुँच नपुग्ने ठाँउहरुमा यो अप्ठ्यारो समयमा इन्टरनेटको नि:शुल्क व्यवस्था सँगै रेडियो, टेलिभिजन, एफ.एम, राष्ट्रिय तथा स्थानीय मिडियाहरु मार्फत शैक्षिक कार्यक्रम सञ्चालन गरी विषय विज्ञहरुसँग विद्यार्थीहरुको नियमित अन्तरक्रिया गराई उनीहरुसँग शैक्षिक दूरी बढाउनु पर्दछ । यस कुराले अभिभावक, शिक्षक र विद्यार्थीहरुको सुमधुर सम्बन्धलाई स्थापित गर्दछ । विश्वका धेरै देशहरूले यस कठिन समयमा पनि आफ्ना विद्यार्थीहरुसँग शैक्षिक सम्पर्क कमजोर नहोस् भन्नको लागि विभिन्न माध्यमबाट अध्ययन अध्यापन गराइरहेका छन् । विकसित देशहरूले जस्तोसुकै अप्ठ्यारोमा पनि शिक्षाको नियमिततालाई निकै महत्त्व दिएको पाइन्छ ।

शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असरले विद्यार्थीहरुको भविष्य अन्धकार हुने मात्र नभई यसले सिङ्गो समाज र मुलुकको संरचनालाई नै ध्वस्त पारि दिन्छ । त्यसैले महामारीको प्रकोपलाई देखाएर कोहि कसैलाई पनि स्वास्थ्य र शिक्षाका नाममा विकृति ल्याउन दिनु हुँदैन । स्वास्थ्यप्रति उच्च साबधानी अपनाउँदै शिक्षाप्रतिको दायित्व पूरा गर्न सरकारका तीन वटै तहहरु, शिक्षा मन्त्रालय र यससँग सम्बन्धित देशै भरका अन्य निकायहरु कुनै पनि हालतमा पछि पर्नु हुँदैन ।

सम्बन्धित समाचार

Advertisement