संगठनलाई चन्दाको धन्दाबाट मुक्त गर्दै शैक्षिक आन्दोलनको बिषयमा केन्द्रीत गरिनु पर्छ – यज्ञराज खरेल

अनलाइन दर्पण 2017-09-18
img

माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलन आउँदो भदौ ७ –११ सम्म काठमाडौंमा हुँदैछ । अध्यक्षमा उठ्ने घोषना गरेका मध्येका एक यज्ञराज खरेलसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

 

  • आउँदो भदौंमा गर्ने भनिएको तपाईहरुको संगठनको सम्मेलन के साँच्चै हुने हो ?

गर्ने भनेरै घोषना गरिएको हो । यो पटक पहिलाको जसरी स्थगित हुँदैन भन्नेमा हामी बिश्वस्त छौं ।

  • कसरी बिश्वस्त हुनुहुन्छ ?

पहिलो कारण त हाम्रो पार्टीको हेडक्वाटर समितिले नै युवा विद्यार्थीहरुको सम्मेलन गराउँने भन्ने निर्णय गरेको छ । अर्को कारण भनेको हाम्रो संगठन अब सम्मेलन बिना एक पाइला पनि अगाडी जान सक्ने अवस्थामा छैन । संगठन यस्तो भद्रगोलतामा छ कि कसले के गरिरहेको छ भनेर थाहा पाउने अवस्थामै हामी छैनौं । त्यस कारण पनि हामीलाई सम्मेलनको अपरिहार्य आवश्यकता परेको छ र सम्मेलन गरि छाड्छौं हामी । 

  • सम्मेलनले सबै समस्याको हल गर्ला र ?

कम्तीमा संगठन ब्यवस्थीत गर्न सकियो भने धेरै बिषयको हल गर्न सकिन्छ । अहिले त करिब ११ सयको आयोजक समिति छ हाम्रो । जहाँ कुनै पनि बिषयको छलफल गरि निर्णय गर्न सकिने अवस्थानै छैन । हामीलाई संगठनको नाममा संगठनमात्र चाहियको छैन । हामीलाई त जुझारु क्रान्तिकारी संगठन चाहिएको छ । जून सम्मेलनमा गएर बृहत बहस र छलफल गरेर निर्माण गर्ने छौं ।

  • अहिलेको संगठनले क्रान्तिकारी बिरासत गुमायो भन्न खोज्नु भएको हो ?

हजारौं महान् शहिदहरुको रगतले सिंचित भएको, अझै सयौ योद्धा बेपत्ता भइरहेको संगठन हो हाम्रो । ति महान ब्यक्तित्वहरुको त्यागलाई हामीले आफ्नो स्वार्थ सिद्ध गर्ने साधनको रुपमा कदापि बनाउँन सक्दैनौं । अहिलेको हाम्रो आवश्यकता भनेको सबै प्रकारको बिकृति बिसंगतीबाट मुक्त भएको संगठनको हो ।

  • अलि प्रष्ट पारिदिनुस न । त्यस्तो संगठन भनेको कस्तो हो ?

चन्दाको धन्दाबाट मुक्त भएको, शैक्षिक बिषयमा केन्द्रीत रहेको संगठन भन्न खोजिएको हो ।

  • तपाईहरुको संगठनमा धेरै नै गुट छ । सम्मेलन कसरी सम्पन्न गर्दै हुनुहुन्छ ?

गुटै त नभनौं । गुट भन्ने शब्दै अलि नमिठो लाग्छ, बरु टिम भनौं । टिम हुनु, बन्नु नराम्रो होइन । तर टिम बनाउँदा संगठन बनाउँने, आन्दोलन उठाउँने प्रतिबद्धता सहित बन्न पर्दछ । जहाँ सम्म सम्मेलन सम्पन्न गर्ने कुरा गर्नु भयो यो पटक हाम्रो इतिहासमै पहिलो पटक नेतृत्व निर्वाचन द्वारा चयन गर्दै छौं ।

  • निर्वाचनको कुरा गर्नु भयो तपाई चाँही कुन पदमा उठ्दै हुनुहुन्छ ?

अहिलेलाई मेरो उम्मेदवारी अध्यक्षमा नै हो । 

  • तपाईको टिमबाट अरु को को कुन कुन पदमा उठ्दै हुनुहुन्छ ?

हाम्रो संगठनको निर्वाचन कार्यबिधीमा प्यानल बनाउन नपाउँने भन्ने छ । त्यसो भए पछि उम्मेदवारी त एक्ला एक्लै हुन्छ । तर पनि के गर्ने भनेर अरु साथीहरुसँग पनि छलफल चाँही चलिरहेको छ ।

सम्बन्धित समाचार

Advertisement