'ज्ञानको दायरा फराकिलो बनाउने कुरालाई कसैले गफ भन्छ भने त्यो मार्क्सवादी हुनै सक्दैन'

अनलाइन दर्पण 2018-07-15
img

एकपटक होइन, पटकपटक पार्टीबाटै अन्यायमा पारिएका र पार्टीभित्रै नेतृत्वको भन्दा इतर विचार राखेबापत अवसर र जिम्मेवारीबाट बेदखल गरिएका पात्रहरुको विम्व बनेको छन् नव गठित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियूका पूर्व अध्यक्ष ठाकुर गैरे । कहिले माधव नेपालका सम्धी सामेनाथ पाण्डेले टिकट पाउने त कहिले कोमल वली नेतृत्वको रोजाईमा पर्ने गरेका कारण लोकप्रिय यूवा नेता ठाकूर गैरे चुनावको टिकट समेत नपाउने अवस्थाबाट गुज्रिएपनि राजनीतिमा इमान्दारिता र वैचारिकता जोगाएर बसेका केही दुलर्भ पात्रहरुको प्रतिनिधित्व गर्छन् । उनै गैरेसँग जनतापाटीका लागि कृष्ण गिरीले उनको पार्टीमा रहेको वैचारिक, सांगठानिक र सरकारका गतिविधिका बारे सम्वाद गरेका छन् ।

हिजोआज नेपालमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु अध्ययन गर्दैनन, तपाईहरु पछिल्लो तीन बर्षदेखि मार्क्सवादको अध्ययन गर्ने, प्रशिक्षण दिने काम गरिराख्नु भएको छ, यसको प्रभाव कस्तो पाउनु भएको छ ?

नेपालको कम्युनिस्ट पार्टीमा तीन तहका कार्यकर्ता छन् । पहिलो पिढी अथवा जुन पिंढी पंचायतको विरुद्ध लड्यो । त्यो पिंढी नेपालमा अहिले पनि राजनीतिक, वैचारिक, दर्शनका बारेमा बहस गर्छ, छलफल गर्छ । उनीहरु पार्टीमा विचार, दर्शन बुझेर, पढेर सक्रिय भए । उनीहरुले विचारले आन्दोलन उठाएका हुन् ।

दोस्रो पिंढी २०४६ सालको आन्दोलनको चरणमा नेतृत्व गरेका नेताहरु पनि आन्दोलनको चरणबाट आए । उनीहरुले पनि विचारमा बहस गरे । अध्ययन गरे । कहाँ कसरी जाने ? कुन तरिकाले आन्दोलन अगाडि बढाउने भन्ने बहस छलफल अध्ययन भएका छन् । 

तेस्रो पिंढी छ । सामाजिक संजालमा रमाउने । यो पिंढी अध्ययन भन्दा पनि दैनिक राजनीतिक घटनामा मात्र ध्यान दिने गर्छ । यो पिंढीले अध्ययनमा त्यति ध्यान दिँदैन ।

तत्कालीन नेकपा मालेमा धेरै ठूलो वैचारीक राजनीतिक बहस भयो । अबको नेपालको कम्युनिस्ट पार्टी कस्तो बनाउने भन्ने बहस भयो । यो २०४६ पछि भयो । यसले नेपालको राजनीतिलाई शान्तिपूर्ण बाटोबाट पनि अगाडि लैजान सकिन्छ भन्ने बहस भयो । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई शान्तिपूर्ण बाटोमा हिँडायो । शान्तिपूर्ण रुपमा पनि नेपालमा समाजवाद ल्याउन सकिन्छ भनेर बहस भयो र त्यही बाटोबाट पछि बनेको एमाले हिँड्यो । 

यो बहस धेरै समयसम्म जारी रह्यो । तर नेपालको वर्ग विश्लेषण, समाज कता जाँदै छ, अबको कम्युनिस्ट पार्टीको मुद्धा के हुने ? कसरी जाने भनेर सातौं र आठौं महाधिवेशनमा नेपाली समाजको नयाँ वर्ग विश्लेषण गर्ने बहस भयो । तत्कालीन एमालेको आठौं महाधिशेनबाट यसबारेमा धेरै ठूलो बहस भयो ।

आठौं महाधिवेशनमा उठेको नेपाली समाजको वर्ग विश्लेषण के हो भन्ने विषयले नवाैं महाधिवेशनमा पूर्णता पायो । नेपाली समाजको चरित्रको निर्धारण गर्यो । नेपाली समाज पूँजीवादी भयो भनेर विश्लेषण गरेका हौं । अब अर्को कुरा छ, जुन अहिले बहसमा आउँदैछ त्यो हो मार्क्सवादको अध्ययन । नेपालमा दुई तिहाइ कम्युनिस्ट त जनमत छ । यो जनमतलाई कसरी मार्क्सवादको अध्ययन गराउने ? नेकपाका नेता कार्यकर्ताहरुलाई कसरी मार्क्सवादको ज्ञान दिने भन्ने विषय टड्कारो रुपमा उठ्नुपर्छ । 

अब कम्युनिस्टको सरकार आएको छ । त्यो पनि तीन तहमै । स्थानीय तह, प्रदेश र संघमा । अब समाजलाई कता लैजाने, विकास कुन मोडेलेको हुने ? कसरी नेपाली समाजलाई समाजवादतर्फ लैजाने भनेर अध्ययन अनुसन्धान गर्नुपर्ने भएको छ । तर यो विषयमा बहस छलफल हुन सकेको छैन । 

पार्टी एकता भएपछि यो काम झनै गर्नुपर्ने भएको छ । हिजोको एमालेले जनताको बहुदलीय जनवाद मान्दै आएका छ । माओवादी केन्द्रले माओवाद र एकाइसाैं शताब्दीको जनवाद मान्दै आएको छ । अझ माओवादीले त प्रचण्डपथ भन्दै आएको थियो । अब अहिले आएर दुबै पार्टी माक्र्सवाद र लेनिनवाद मान्न तयार छ । अब यसको लागि नेता कार्यकर्ताहरुलाई हिजो जवज र एक्काइसौ शताब्दीको जनवाद मान्नुको कारण र अहिले छोड्नुपर्ने कारणका बारमा जानकारी दिनुपर्छ ।

अब हुने महाधिवेशन सम्म यसको सबै हल खोजिनु पर्छ । अगामी महाधिवेशनमा सैद्धान्तिक रुपमा सबै कुराको टुङगो लगाउनुपर्छ । नेपाली समाजका अन्र्तविरोध के हो ? नेकपाको मित्र शक्ति को हुन ? कससँग कसरी व्यवहार गर्ने ? यो कुराको हल हुनुपर्छ । नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुन के के मापदण्ड चाहिन्छ ? यसको सदस्य हुन के कति मार्क्सवादको अध्ययन गर्ने भन्ने हुनुपर्छ । मार्क्सवाद के हो भन्ने नजान्ने यसका सदस्य छन् । एशियाको ठूलो कम्युनिस्ट पार्टी हो भनेका छौं । खुसी भएका छाैं । यसको विचार पक्षमा कुनै चासो छैन । कम्युनिस्ट पार्टीमा विचार प्रधान हो । यो भएको छ कि छैन ? अहिले अध्ययनको खाँचो छ । यो भनेको मार्क्सवादको अध्ययन गर्नुपर्छ । व्याख्या गर्नुपर्छ । मार्क्सवादलाई नेपाली समाज अनुसा लैजानु पर्छ ।

यही मार्क्सवादको अध्ययन गराउने भनेर तीन बर्ष पहिलाबाट मार्क्सवादको अध्ययन अध्यापनको लागि ४ वटा पार्टी सम्मिलत भएर लुज फोरम बनाएका हौं । कार्ल मार्क्स द्धिवार्षिकि शतवार्षिकी समारोह बनायौं । अहिले यो फोरमले १० हजारलाई मार्क्सवाद पढाउने हो ।

समाजलाई बदल्ने हो । समाजलाई कता लैजाने भन्ने छ । हामीले पार्टी एकता गर्दा समाजवाद ल्याउने भनेका छौं । त्यो पनि शान्तिपूर्ण रुपमा । यसको लागि के कार्यदिशा अपनाउन, मार्गदर्शक सिद्धान्त के हुने ? यसको बारेमा बहस हुन आम पार्टी पक्तिंलाई पढाउन आवश्यक छ । 

विचार प्रधान भनेको कुरामा बहस हुँदैन । तर, हामी यही बहस गर्न छलफल गर्न लागेका छौं । यसबाट कम्युनिस्ट पार्टी बलियो हुन्छ भनेर लागेका छाैं । विचारले नै पार्टीको गाइड निर्धारण गर्छ । नेपालको अर्थतन्त्र, भूराजनीति, समाजवादको तयारी गर्न पनि मार्क्सवादको अध्ययन अध्यापन आवश्यक छ । हामी यही काममा लागेका छाैं ।

यो तीन बर्षको दौरानमा युवा, राजनीतिक नेता कार्यकर्ताहरुमा अध्ययन, बहस छलफल प्रति कत्तिको चासो पाउनु भयो ?

पछिल्लो तीन बर्षको अनुभव भन्नु पर्दा आम कार्यकर्ता, यूवाहरुमा मार्क्सवादको अध्ययन प्रति मोह छ । अथवा मार्क्सवाद सिक्ने चासो धेरै छ । जब हामीले धुलिखेलमा एक हप्ताको क्लोज क्याम्प संचालन गरेका थियौं । त्यहाँ साढे तीन सय यूवाहरुलाई बोलायौं । बैशाखमा हामीले काठमाडौंमा एक हजार बोलाएका थियाैं तर अठार सयको सहभागिता भयो । केही दिन पहिला पाँच नं प्रदेशमा भएको गोष्ठीमा ८ सय बोलाएका थियौं तर साढे बाह्र सयको सहभागिता भयो । यसले थाहा हुन्छ कि मार्क्सवाद सिक्ने इच्छा, चाहना तलका नेता कार्यकर्तामा धेरै छ । यसलाई सही तरिकाले हामीले व्यवस्थापन गरि दिनुपर्छ ।

तपाईको समूहलाई खाली मार्क्सवादको अध्ययन गर्ने, बहस र गफ गर्ने बाहेक केही काम नगर्ने भन्ने आरोप छ नि ?

अहिले जो राज्य र पार्टीको नेतृत्वमा पुग्नु भएको छ, उहाँहरु सबैले मार्क्सवाद राम्रोसँग पढेका भएर पुग्नु भएको हो । पंचायत ढाल्न संभव छ भन्ने ज्ञान नेताहरुमा आएको मार्क्सवाद पढेर नै हो । उहाँहरुमा विचार थिएन, मार्क्सवादको ज्ञान थिएन भने १ सय ४० बर्षको राजतन्त्र ढाल्न सक्नु हुँदैन थियो । नेताहरु चौंध बर्ष सम्म जेल बस्नु भयो, त्यो मार्क्सवादको ज्ञान भएर सम्भव भएको हो । ज्ञानको दायरा फराकिलो बनाउने कुरालाई कसैले गफ भन्छ भने त्यो कहिल्यै मार्क्सवादी हुन सक्दैन ।

तीनै तहका सरकारमा कम्युनिस्टहरुको बहुमत छ । तर, जनताको गुनासो छ समाजवाद तर्फ त परैजाओस सामान्य जनजिवीकाको काम पनि भएन भन्ने । तपाईलाई यो आरोप मात्रै लाग्छ कि यर्थाथ पनि ?

जित्नु मात्र सबैथोक होइन । ठूलो कुरा होइन । यदि कुनै पार्टीले जित्ने कुरा मात्र ठूलो हुन्थ्यो भने धेरै पहिला नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो । उनको सरकार किन ढल्यो । वि पी यूवाहरुलाई खुल्ला रुपमा संवोधन गर्दै थिए । प्रहरीले त्यहीँबाट गिरफ्तार गर्यो तर त्यसको प्रतिरोध कसैले गरेनन् । अर्को बहुदलपछि पनि कांग्रेसले बहुमत ल्यायो । तर पनि यो देशमा परिवर्तन भएन । गणतन्त्रको लागि आन्दोलन भयो । माओवादी जनयुद्ध भयो ।
अर्कोतर्फ ७० बर्ष चलेको रुसको कम्युनिस्ट सत्ता केही पनि रक्तपात नभएर ढल्यो कोही किन बोलेन ? यो अध्ययनको विषय छ । हामीले यसबाट शिक्षा लिनुपर्छ । जित मात्र ठूलो कुरा होइन । त्यो जितलाई जनताको पक्षमा कसरी लागु गर्ने भनेर सोच्नुपर्छ । नत्र जित सबै कुरा होइन । नत्र रुस ढल्दा कोही पनि किन बोलेन ? यसबाट शिक्षा लिन आवश्यक छ ।

आजको नेकपा एशियाको ठूलो पार्टी भन्छौ । दुई तिहाइ बहुमत छ । यो बहुमतलाई जनपक्षीय बनाउनुपर्छ । जनतासँग र जनजिवीकासँग जोड्नुपर्छ । शोषित, मजदुर, असहाय, सर्वहारा र किसानको हितमा त्यससंग जोडिएर काम गर्नुपर्छ । यसबाट मात्र सफलता हुन्छ । यो कम्युनिस्ट पार्टीलाई सामुहिक नेतृत्वमा चल्ने, विधि र विधानमा चल्ने, सरकारका काम प्रवाभकारी बनाउने गरि जानुपर्छ । यो सबै गर्न मार्क्सवादी विचारबाट गाइडेड हुनु पर्छ ।

स्थानीय तहका प्रतिनिधिहरुले गरेका काम पनि समाजवाद उन्मुख छैनन् भनेर जनताबाट गुनासो आउन थालेका छन् किन हो ?

यहाँ कस–कसले भन्दा पनि सिङगो सरकारको प्रतिनिधित्व गरेकाहरुले नै यो विषयमा ध्यान दिनुपर्छ । हामीहरुले यी निकायहरुमा प्रशिक्षण दिनुपर्छ । आफ्नो पार्टीको विधान घोषणापत्र अनुसार चल्ने बनाउनुपर्छ । हामीले सबै जनप्रतिनिधिहरुलाई मार्क्सवादको ज्ञान दिन आवश्यक छ । यो सधैं रहने छ । यदि हामी समाजवादमा जाने हो अथवा जनताको पक्षमा समृद्धि ल्याउने हो भने विचारले प्रशिक्षित बनाउनु नै पर्छ । यो भएन भने जनताबाट गुनासो आउने बाटो सधैं खुल्ला रहने छ । 

जनताहरुले पनि सधै खवरदारी गर्नु पर्छ । जनताले नै आफ्नो पक्षमा हुने सबै कामको नियमन र निगरानी पनि गर्नु आवश्यक छ ।

समृद्धिका कुराहरु कति जायज छन् ,अहिलेको समृद्धिको आधार त प्रष्ट छैन किन यस्तो हावादारी कुरा गरेको कम्युनिस्ट सरकारले ?

हामीले भनेका छौं राष्ट्रिय पूँजीको निमार्ण गर्ने भनेका छाैं । राष्ट्रिय अर्थतन्त्रको लागि गर्नुपर्ने काम के के हुन पहिला नै निर्धारण हुनुपर्छ । नेपालको पहिलो प्राथमिकता के हो ? नेपालमा भोको मर्नु नपर्ने, खुल्ला आकासमा बस्नु नपर्ने, औषधि नपाएर कसैले मर्नु नपर्ने हो । शिक्षा स्वास्थ्य, वेरोजगारको समस्या हल गर्ने हो । यो गर्नको लागि सरकारले रोजगार, औषधिका उद्योग, खाद्यमा आत्मनिर्भर, शिक्षा र स्वास्थ्य लगायतका कामहरु पहिलो प्राथमिकतामा राख्नुपर्छ । अहिलेको आवश्यकता भनेको यही हो । यसका लागि हामीले तयारी गर्ने हो । यो तयारी पूरा भएपछि अरु समृद्धिका कुरा गर्ने हो । पूर्वाधारको लागि चाहिने जनशक्ति उत्पादन गर्नुपर्छ । कृषिको प्लान, पर्यटनको प्लान आवश्यक छ । यो पूरा गर्यो भने मात्र अन्य काममा ध्यान दिन सक्छौं । विदेशी लगानीलाई पनि हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर बोलाउने हो । यो सबै काम गर्न माक्र्सवादको ज्ञान हुन आवश्यक छ । यसको लागि पार्टीको योजना हुनुपर्छ ।

अधिनायकवादको चर्चा धेरै हुन थालेको छ, के यो देशमा कम्युनिस्टको अधिनायकवाद आएकै हो ?

यो हावा कुरा हो । यसको न कुनै सैद्धान्तिक आधार छ । न त वैचारिक आधार छ । न त यो कुरा संविधानले नै परिकल्पना गरेको छ । अहिले कांग्रेसको सैद्धान्तिक जग सकिएकाले यस्तो अरोप लगाउँदै छ । हिजोको कांग्रेसको विचार र सिद्धान्त बोकेर अगाडि बढ्न नसक्ने भएपछि अधिनायकवादको हल्ला चालएका छन् । यो नारा चुनावमा नै फेल भइसकेको हो ।

कम्युनिस्ट पार्टीले सरकार संचालन गर्छ कि सरकारले पार्टी संचालन गर्छ ?

कम्युनिस्ट पार्टीले र कम्युनिस्ट पार्टीको गाइड लाईनमा सरकार चल्नुपर्छ । पार्टी विधि र विधानमा चल्नु पर्छ । यहि अनुसार सरकार चल्नुपर्छ । यसबाट दाँयाबाँया लाग्यो भने परिणाम सकारात्मक आउँदैन ।-जनतापाटी

सम्बन्धित समाचार

Advertisement